विदेशी मुद्रा सञ्चिति झन्डै १७ खर्ब रुपैयाँ

0

विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गएकाे कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ बराबर छ ।

केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियाे । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले बढेर १२ अर्ब ७५ करोड पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले बढेर दुई खर्ब पाँच अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । गएकाे कात्तिक मसान्तको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.