स्थानीय लोककला, संस्कृति र परम्पराको संरक्षणमा जोड

0

हेटौँडा \  मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो ।

गुप्तेश्वर महामन्दिर र गुप्तेश्वर गुफा नजिकै तीन दिनदेखि लागेको मेला सोमबार रातभर नाचगान गर्दै मङ्गलबार बिहान सम्पन्न भएको कैलाश गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताउनुभयो । जात्रामा होटल, फलफूलका पसलको व्यवस्थासँगै स्थानीय लोक संस्कृति र परम्पराको प्रदर्शनसहित मनोरञ्जनको व्यवस्था गरिएको थियो ।

मेलाका अवसरमा आयोजित कार्यक्रममा कैलाश गाउँपालिकाको अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको केन्द्र कालिकाटारबाट गुफासम्म आउने बाटोका लागि प्राथमिकतामा राखिएको बताउनुहुँदै वैकुण्ठमा होम स्टे सञ्चालनको अवधारणा ल्याइएको बताउनुभयो ।  गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले पालिकामा रहेका ऐतिहासिक एवम् धार्मिक महत्त्वका स्थान र पर्वको संरक्षणमा पालिकाले काम गरिरहेको बताउनुभयो ।

गुप्तेश्वर गुफा मेला संयोजन समितिका विमल दोङको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा नं. ८ का वडाध्यक्ष आशिष् प्रजालगायतले पर्यटकीय पूर्वाधारहरूको विकासमा जोड दिनुभएको थियो ।

बालाचतुदर्शी औँसीको अघिल्लो दिन आइतबार साँझबाट पितृको सम्झनामा स्थानीय गुप्तश्वर महादेव मन्दिर परिसरमा दीपदान गरेर बसेका भक्तजनहरूले सोमबार बिहान श्रद्धापूर्वक शतबीज छरेका थिए ।

Leave A Reply

Your email address will not be published.