देश बिग्रियो भनेर अहिले नै निराश नबनाैँ : कांग्रेस महामन्त्री थापा

0

गुल्मी \  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बिग्रियो भनेर अहिले नै निराश नबन्न आग्रह गर्नु भएको छ । उहाँले नेतृत्व बदल्ने सम्हाल्ने काम युवाहरुको काँधमा आएको भन्दै अहिलेको काम गरिबी र बेरोजगारी चिर्दै र हटाउँदै सबैलाई सम्हालेर अघि बढ्ने बताउनु भयो । महामन्त्री थापाले नागरिकहरुले व्यवस्था बदल्न नचाहेको तर नेतृत्वको अनुहार र आचरण बदल्न चाहेको बताउनु भयो।

शनिवार गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आउँदो महाधिवेशनबाट आफूहरुले पार्टी सञ्चालनको तरिका बदल्न चाहेको बताउनु भयो । उहाँले अबको निर्वाचनमा कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो । चुनाव हारे पनि फरक नपर्ने भन्दै नेता थापाले चुनाव हारिन्छ भनेर गठबन्धन गर्नु जस्तो राजनीतिक भ्रष्टाचार अब कांग्रेसले नगर्ने स्पष्ट पार्नु भयो ।

आर्थिक, नैतिक र राजनीतिक भ्रस्टाचार सबैभन्दा ठूलो अपराध भएको भन्दै उहाँले त्यस्तो अपराध गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । गणतन्त्रमा गणतन्त्रका लागि प्रश्न गर्न पाइन्छ तर प्रश्न गर्‍याे भन्दैमा कसैको मुख थुन्न नपाइने भन्दै सरकारले बोल्न पाउने हकको सुरक्षा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

नेपालका राजाहरुको बदनियतका कारण राज संस्था गएको भन्दै नेता थापाले मूर्ति बेच्नेहरुले धर्मको रक्षा गर्न नसक्ने बताउनु भयो । उहाँले जुवाको च्याँखे खालमा गएर दाउ नहान्न राजालाई आग्रह गर्नुभयो । थापाले जुवा खेल्ने भए सिधै खालमा आएर कांग्रेससँग भिड्न राजालाई चुनौती दिनुभयो ।

Leave A Reply

Your email address will not be published.