रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

0

कञ्चनपुर \ ४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले यस्ताे आग्रह गर्नुभएको हो ।

‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भन्नुभयो, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनुपर्‍यो ।’

भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाउनुभएको थियो ।

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिनुभयो । ‘कुटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गएकाे भदौ २७ गते इजरायल जानुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए ।

गएकाे असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उहाँको कुनै खबर प्राप्त हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.