एन्फाः अध्यक्ष र महासचिव विरुद्धको अविश्वासको प्रस्ताव असफल

0

हेटौंडा \ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौँडामा विहीबार भएको एन्फाको विशेष साभारणसभामा भएको मतदानबाट अविश्वासको प्रस्ताव असफल भएको हो ।

मतदानमा ८७ मत मध्ये कुल ५३ मत खसेको थियो । त्यसमध्ये एक मत बदर भएको थियो । मतदानमा अविश्वासको प्रस्तावको पक्षमा एक मत पनि खसेन । अविश्वासको प्रस्ताव असफल भएसँगै अध्यक्ष नेम्वाङको पद जोगिएको छ । नेम्वाङले एन्फा अध्यक्ष पदमा निरन्तरता पाउने भएका हुन् ।

अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका थिए । उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनुपर्ने माग राखेका थिए ।

गत भदौ २५ गते एन्फाका ४८ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए । अध्यक्ष र महासचिवको बर्खास्तीको माग गर्नेहरुले विभिन्न १९ बुँदे आरोप लगाउँदै आएका थिए ।
एन्फाका एक सय पाँचमध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको छ । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्बाङ पद मुक्त हुने थिए । विशेष सधारणसभाको निरीक्षणका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिको पनि उपस्थिति रहेको छ ।

Leave A Reply

Your email address will not be published.