चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

0

काठमाडौँ \  जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।

भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको बताए ।  अध्यक्ष नेपालले पनि सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपाले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो । यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटघाट हुने कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौँ । भेटघाट सुरु भएको छ । नेताहरुसँग भेट्ने देश र पार्टी हितका विषयमा कुरा हुँदैछन् । उहाँहरुको व्यवहारले हामीलाई उत्साहित बनाएको छ ।’

Leave A Reply

Your email address will not be published.