दलका नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन बाध्य भएको एनआरएनए अभियन्ताहरुको आरोप, झाँक्रीको अभिव्यक्तिमा आपत्ति
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर एनआरएनएका सदस्य, सरोकारवाला र कानुनविद्हरुले आपत्ति जनाएका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन् ।
कार्यक्रमका वक्ता श्रीराम कँडेलले झाँक्रीजस्ता नेताहरुको कारण आफूहरु विदेशिनुपरेको र नेपाल एशियाकै गरिब राष्ट्रमा रुपान्तरित भएको बताए । ‘नेपालमा जुन राजनीतिले यो देशलाई बिगार्यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो । अब विश्वको एक नम्बरमा पुर्याउने दौडमा नेताहरु छन्,’– उनले भने ।
एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिएको उनको भनाई छ । त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ । त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्न लगायतका काममा त्यहाँको स्थायी आवासिय प्रमाण पत्र लिन नेपालीहरु बाध्य हुने उनको भनाई छ ।
नेपालमा बस्नका लागि युवाहरुलाई अत्यन्त कठिन र पीडा भएपछि बाध्यताले पेट पाल्न र आफ्नो सन्ततीको भाग्य भविष्य निर्माण गर्न विदेश जानुपरेको उनले बताए । कुनै नेपाली हाँसेर विदेश नगएको बताउँदै उनले यो कुरा रामकु्मारी झाँक्रीजस्ता नेताहरुले बुझ्न आवश्यक रहेको बताए । विदेशिएका नेपालीले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिँदैमा यहाँका वंशजको नागरिकता त्याग्नुपर्ने व्यवस्थाले विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको उनको भनाई छ ।
‘हरेक नेपाली युवा एयरपोर्टबाट रुँदै विदेशिन्छन् । बाबुआमा आफन्तहरुले रुँदै विदा गरिरहेका छन् । त्यो अवस्थाबाट एउटा नेपाली विदेशिन्छ । यो कुरा राजनीति गर्ने रामकुमारी झाँक्रीजस्ताले बुझ्नुपर्ने विषय हो । उहाँहरुजस्ता नेताको कारण आज युवाको अवस्था जर्जर बनेको छ ।’ उनले भने, ‘उनीहरु विदेशमा बस्दैगर्दा त्यहाँको वातावरणले त्यो कागजको खोस्टो घाँडो नहोस् भन्नका लागि त्यहाँको नागरिकता लिइहाले पनि त्यहाँको नागरिकता लिएपछि नेपालको वंशजको नागरिकता स्वत निष्कृय हुने भनेको छ । यसले बाध्यतावस विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको छ ।’
आफ्नो देशमा रोजगारी नभएर विदेशिएका नेपालीहरुको वंशजको नागरिकताको सम्बन्ध टुटाउने वातावरण अहिलेको व्यवस्थाले गरेको उनले बताए ।
महाधिवेशनको क्रममा नागरिकताको निरन्तरताको विषयमा योगेन क्षेत्रीलगायत र नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीबीच भएको विवादमा केन्द्रीय हुँदै उनले झाँक्रीले लाखौं नेपाली मूलका नागरिकमाथि अपमान गरेको बताए ।
झाँक्रीले विदेशमा गएका नेपालीहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दै फुर्सद नभएको टिप्पणी गरेको स्मरण गराउँदै उनले झाँक्रीलगायतका नेताहरुलाई भ्रष्टाचारको पैसा खाँदै नेपालको बारेमा सोच्ने फुर्सद नभएको उनको आरोप छ ।
‘तपाईँहरुका कारणले यो मुलुक आज एसियाको गरिब भयो । भोलि यो मुलुक विश्वको गरिब हुनेछ । त्यो अवस्थामा कसले कसले पुर्यायो ? यसको जवाफ चाहीँ कसले दिने ? विदेशमा गएकालाई त रेस्टुरेन्टमा काम गर्दै फुर्सद भएन, हामीले मान्यौं । तर, यो देशमा राजनीति गर्नेहरुलाई केले फुर्सद भएन ?’ प्रश्न गर्दै उनले भने, ‘भ्रष्टाचारको पैसा खाँदै फुर्सद भएन । आज यो मुलुक यस्तो अवस्थामा जानुपर्ने त्यहाँभन्दा अर्को के कारण छ ?’
नेताहरुले युवालाई विदेशमा जान बाध्य बनाएपनि तिनै युवाहरुले पठाएको रेमिट्यान्सले अहिलेको सरकार धानिरहेको उनको टिप्पणी छ । झाँक्री र उनीजस्तै नेताहरुको कारण विदेशिन बाध्य भएका नेपालीहरुले पठाएको रेमिट्यान्सबाट तलब खाइरहेको उनले बताए । एनआरएनएका सदस्यहरुले पठाएको रेमिट्यान्सको तबल खाने सांसदहरुलाई एनआरएनएलाई गालीगलौज गर्ने अधिकार नरहेको बताए ।
अर्का वक्ता गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको वहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवाद व्यक्त गरे । झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पुर्याएको उनले बताए । आज नेपालमा रोजगारी र अवसर नपाएर विदेशिने युवाहरु हरेक घर–घरमा रहेको बताउँदै उनले विदेशमा गएपछि त्यहाँको परिस्थितिमा बाँच्ने र टिक्ने उपाय गर्नु स्वभाविक भएको बताए । विदेशमा गएपछि पिआर लिनु बाध्यता रहेको उनको भनाई छ । अहिलेको संविधानका कारणले विदेशमा गएर दुःख गरिरहेका मूलवासीलाई बाहिर लखेट्ने काम भएको उनले बताए ।
प्रायः एनआरएनएलाई विदेशमा दुःख नभएपनि आफूहरु आत्मसम्मानका लागि बोलिरहेको उनले बताए । मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ । नेपालको कानुनले नेपाली मुलवासीलाई नेपाल फर्किने र अधिकारको उपभोग गर्ने ढोका बन्द गर्न नहुने उनले बताए ।
अर्का वक्ता योगेन क्षेत्रीले यो देशमा बस्न पाउने र नागरिकताको अधिकार एनआरएनहरुले पनि पाउनुपर्ने बताए । संसारको कुनै पनि देशले वंशजको नागरिकलाई कानुन बनाएर, नियम बनाएर अनागरिक बनाउन नपाउने उनले बताए । नागरिकता प्राप्त गरेर राजनीतिक अधिकार हुने नागरिकता संसारको कुनै पनि देशमा नरहेको र यो व्यवस्था संयुक्त राष्ट्रसंघको वडापत्रको विरुद्ध रहेको उनको दाबी छ ।
अहिले एनआरएनएमा राजनीतिक दलका केही व्यक्तिहरु गएर कब्जा गरेर बसेको उनको आरोप छ । यहीँका राजनीतिक दलका नेताहरुले कब्जा गरेको कारण अहिले एनआरएनएमा भाँडभैलो रहेको उनले बताए ।
‘हामी यो देशको पक्षमा छौं । यो देशको विकासको पक्षमा छौं । फर्केर आएर आफूले सिकेका सीप, अनुभव, शिक्षासहित लिएर यो देश बनाउन आउँछौं भन्दा हामीलाई छेकिएको छ, डिसकरेज गरिएको छ । त्यसकारण यो संविधान हाम्रो र नेपालको पक्षमा छैन । संविधानभन्दा माथि वंशजको नागरिक हुन्छ । वंशजको नागरिकतालाई हनन् गर्ने संविधान यो देशको संविधान हुनसक्दैन,’– उनले भने ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले विश्वका २ सय १ देशमध्ये एक सय ८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए । इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उनले बताए । त्यसैगरी बेलायतका वर्तमान प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाई छ ।
‘संसारमा अहिले २०१ वटा देश छन् । तीमध्ये करिब १५ वटा देशले दोहोरो नागरिकताको सिद्धान्त मान्दैनन् । त्यो बाहेकका देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको छ,’– उनले भने ।
दोहोरो नागरिकता संसारमा रहेको बताउँदै उनले नेपालमा २०६३ सालपछि यो समस्या आएको बताए । नागरिकता ऐन २०६३ बनाएर जन्मको आधारमा नेपालको नागरिकता दिने व्यवस्था गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा रहेको विभिन्न देशका शरणार्थीले समेत नेपालको नागरिकता पाएको उनको दाबी छ । राज्यले रोजगार दिन नसकेर विदेशिएका नेपाली वंशजको नागरिकले सरकारले कानुन बनाएर अब तिमी नेपाली रहेनौं भनेको उनले बताए ।
२०६३ अघि नेपालमा दोहोरो नागरिकताको सिद्धान्त लागू रहेको दाबी गर्दै उनले विदेशी राष्ट्रहरुको स्वार्थमा त्यसमा बन्देज लगाएर बरु जन्मको आधारमा नागरिकता बाँड्न थालिएको उनको अरोप छ । सिक्किमको मोडल र नेपालको मोडल एउटै भएको दाबी गर्दै उनले नेपालका राजनीतिज्ञहरु बाहिरबाटै सञ्चालिरहेको टिप्पणी गरे ।
गैरआवासीय नेपालीहरुलाई वंशजको नागारिकतामा रोक लगाउनुको उद्देश्य नेपाललाई सिक्किमीकरण गर्ने रहेको उनले बताए । आफ्ना वास्तविक नागरिकलाई वंशजको नागरिकबाट हटाएर सरकारले करिब ५५ लाख आयतितलाई नागरिकता बाँडेको उनको अराप छ ।
राजनीतिको झोला त्यागेर नेपालको रक्षाको लागि उठ्न उनले संसारभरका नेपालीलाई आग्रह गरे । अहिले नेपालीले कमाएको डलरको फाइदा भारतले खाएको उनको भनाई छ । जापान, अमेरिका लगायतको देशमा नेपालीले कमाउने पैसा रामकुमारी झाँक्री लगायतका नेताहरुले सोही काममा दिन तयार भए सबै नेपाली नेपाल फर्किन तयार रहेको उनले बताए ।