विमानस्थलमा हर्षका आँसु, बाँकी नेपालीलाई पनि छिट्टै ल्याइने

0

इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै उनीहरुलाई पर्खिएर बसेका आफन्तसँग अङ्कमाल गर्दा सबैका आँखामा हर्षको आँसु देखिन्थ्यो ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरुले त्यहाँको कहालीलाग्दो क्षण अझै बिर्सिएका छैनन् । आफूहरु भाग्यले बाँचेको उनीहरुले बताए । स्वदेश फर्कनेमध्ये एक विद्यार्थी शोभा पासवानले भन्नुभयो, ‘बम र बङ्करबाट फुत्कन पाएको र आफ्नै देशमा भित्रिएकोमा खुसी लागेको छ, तर गुमाएका साथीको याद सधैँभरी हुनेभयो ।’

पहिलो चरणमा नेपाल फर्किएकाहरुमध्ये त्रिभुवन विश्वविद्यालयका ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना गरी एक सय ३२ जना विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति अम्मरराज जोशीले आफ्नो विश्वविद्यालयबाट इजरायल गएकामध्ये एक जना घाइतेसहित ३५ जना विद्यार्थी फर्किएको जानकारी दिनुभयो । इजरायलमा १० जना विद्यार्थी गुमाउनु परेको र एक जना सम्पर्कविहीन भएको घटनाले ठूलो आघात पुगेको भए पनि अन्य विद्यार्थीको सकुशल उद्धार भएकोमा निक्कै खुसी लागेको जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई ठूलो आघात भएको छ । १० जना विद्यार्थी हताहत भए । अझै एक जना सम्पर्कविहीन छन् । एक जना घाइतेसहित ३५ जना विद्यार्थीलाई सकुशल ल्याउने काम भएकोमा जुन सरकारले तदारुकताका साथ उद्धार गर्यो त्यो प्रशंसनीय नै छ ।’

Leave A Reply

Your email address will not be published.