शिक्षक आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

0

काठमाडौं \ प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । बुधबार दिनभर राजधानीमा प्रदर्शन गरेका शिक्षकहरुले बिहीबार पनि प्रदर्शन जारी राख्ने भएका छन् ।

शिक्षक महासंघले नै विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान गरेकाले पठन पाठन नहुने निश्चित छ । यता काठमाडौं महानगरपालिकाले भने विद्यालयमा पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानून बमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको फरक माग हुँदाहुँदै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको छ । विद्यालय बन्द गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने पनि महानगरको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले शिक्षा विधेयकप्रति आफूहरुको पनि असहमति रहेको तर, त्यसो भन्दैमा विद्यालय बन्द गर्न भने नपाइने बताउनु भएको छ । सामाजिक सञ्जालमा सन्देश लेख्दै मेयर साहले पनि काठमाडौंमा विद्यालय बन्द गरिए कानून अनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.