काठमाडौं \ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीबार आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद चौधरीले उहाँले आम्दानी र खर्चको हिसाबले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न चुनौति रहेको बताउनुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ ब्याज भन्दा विकास बजेट सानो हुन थालेको टिपणी गर्नुभयो ।
सांसद चौधरीले ऋणको सावाँ ब्याज भुक्तानीको लागि १७.५५ प्रतिशत वित्तीय व्यवस्थापन गरिएको र विकास कार्यक्रमको लागि पुँजीगततर्फ १७.२५ प्रतिशत बजेट विनियोजन हुनु भनेको अर्थतन्त्र क्रमशः गिर्दो अवस्थामा गएको सूचक भएको टिप्पणी गर्नुभयो ।
देशले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँको खर्च गर्नुुपरेको अवस्था भनेको देशमा आर्थिक विकासको गति रोकिएको मान्नुपर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न धेरै मेहनत गरे बजेटले सकारात्मक सुधार गर्ने अपेक्षा गर्न सकिने बताउनुभयो ।