एमालेको नेतृत्वमा सहमतिको सरकार बन्ने

0

काठमाडाँै, ८ असोज । नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्को अधिवेशन सुरु भएको एक साताभित्र आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बन्ने जिकिर गर्दै त्यसको विषयमा गृहकार्य सुरु भइसकेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुकको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको विषयमा कसैसँग सम्झौता नहुनेमा जोड दिँदै हामीले पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी राष्ट्रसँग सम्बन्ध अझै सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले नेपालको संविधान बनाउन हामीले कसैलाई सोध्नुनपर्ने विचार व्यक्त गर्दै हामी आफ्नो आन्तरिक मामिलाको समस्या आफैँ समाधान गर्न सक्षम छौँ, कसैको पनि हस्तक्षेप स्वीकार्य हुने छैन भन्नुभयो ।
नेता खनालले यही असोज ३ गते जारी भएको संविधानले देशको भविष्यका लागि दूरगामी महत्व राख्ने हुँदा संविधान कुनै पनि हालतमा लागू गर्ने बताउँदै अब मुलुकमा गरिबी, बेरोजगारी, अशिक्षा र रोगव्याधि उन्मूलन गरी आर्थिक रुपान्तरणका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नयाँ संविधानमा सङ्घीयता, मधेसी आयोग, समानुपातिक समावेशीता, मौलिक हक नागरिकताको समस्या, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनेजस्ता सबै विषय समावेश भएको अवस्थामा तराईमा आन्दोलनको अर्थ नरहेको बताउनुभयो । उहाँको भनाइ थियो– “औचित्य नभएको आन्दोलनलाई हामी समर्थन गर्न सक्दैनौँ । केही जायज माग छन् भने छलफल गर्न तयार छौँ ।” नेता खनालले नेपालको पारवहन अधिकार भारतको कृपाको विषय नभई अन्तर्राष्ट्रिय अधिकार भएकाले भारतले नेपालमा आवश्यक सामग्री आपूर्ति गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.