रास्वपाका सांसदले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भनेपछि संसद् बैठकमा विवाद

0

काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैंसी चढेर आएको’ भनेर अभिव्यक्ति दिएपछि विवाद भएको छ ।

खनालले‍ भनेका थिए, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर भर्खर उहाँले नै उद्‌घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर सोचेका थियौं । दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए ।’

त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरेका थिए ।

तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए ।

एमालेका सांसद सूर्यबहादुर थापाले एक सदस्यले बोलिरहेको समयमा अर्को सदस्यले बाधा पुर्‍याउन नहुने भन्दै सत्ता पक्षका मान्छेले दादागिरी देखाएको बताए ।

होहल्लाका बीच सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

त्यसपछि एमाले सांसद रघुजी पन्तले भैंसी चढेको भन्ने शब्द प्रधानमन्त्रीले स्वयम् रोस्ट्रमबाट बोलेको उल्लेख गर्दै अर्को पक्षले बोलेको विषयलाई हटाइएको भन्दै प्रधानमन्त्रीले भनेको शब्द पनि हटाउन आग्रह गरे ।

रास्वपा सभापति रवि लामिछानेले स्वयम् प्रधानमन्त्रीले रोस्ट्रमबाट उभिएर भनेको कुरालाई आफ्ना सांसदले किन भन्न नहुने भन्ने प्रश्न गरे । सत्ता पक्षले पेलेर जान खोजेको भन्दै असन्तुष्टि जनाए ।

सभामुखले भैंसी चढेर आएको शब्द जसले बोलेको भए पनि रेकर्डबाट हटाउनुपर्‍यो भनेको भन्दै सभा सञ्चालनका लागि सहयोगको आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.