काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तु उठान गर्न पाइने बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधि सभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले संसदमा आफ्ना कुरा राख्न पाइने बताएका हुन् ।
पाण्डेले संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले यस्ता विषवस्तु उठाउनु नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर बिरोध गरिरहेका एमाले सांसदहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।