काठमाडौं, ७ असोज । भारतीय राजदूत रन्जित रेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विहीबार काठमाडौंमा प्रकाशित अन्नपूर्ण पोष्टको समाचारअनुसार विशेष परामर्शका लागि दिल्ली पुगेका राजदूत रेले बुधबार काठमाडौं फर्केकै दिन दाहाललाई भेटी मुलुकलाई सामान्य अवस्थामा लैजान संविधानविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने र त्यसको नेतृत्व गर्न दाहाल नै उपयुक्त पात्र हुने बताए । मधेसी र थारु असन्तुष्टले बाबुराम भट्टराईलाई मधेसको नेतृत्व दिन आग्रह गरिरहँदा रेले दाहालप्रति व्यक्त गरेको विश्वासलाई एमाओवादीभित्र दाहालकै बलियो पकड रहेको आँकलन गरेको संकेतका रुपमा बुझिएको छ ।