मधेशको आन्दोलन भन्सार नाका र राजमार्गमा केन्द्रित हुने

0

राजविराज, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा आन्दोलरत अन्य दल, मोर्चा र संघ–संगठनलाईसमेत समेटेर आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । हिजो बुधबार सप्तरीको राजविराजमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई अझ प्रभावकारी बनाउन विभिन्न पक्षसँग एकता र सहकार्य गर्ने निर्णय गरेको हो ।
मोर्चाले आन्दोलरत अन्य पक्षलाई समेट्ने विषयमा आवश्यक तयारी गर्न राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, मनीष सुमन र रामनरेश राय रहेको कार्यकदल पनि गठन गरेको छ । तीन प्रमुख दलले आफ्ना मागको कुनै सुनुवाइ नगरेको भन्दै मोर्चाले अब आन्दोलनका कार्यक्रम भन्सार नाका र राजमार्गमा केन्द्रित गर्ने निर्णयसमेत गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले वार्ताको ढोका बन्द नगरेको भन्दै सरकारले वार्ताको वातावरण बनाउनुपर्ने बताए । मधेसी मोर्चाले पूर्व पश्चिम हुलाकी लोकमार्गमा मानवसांग्लो बनाउने, सरकारी कार्यालय, भन्सार नाका बन्द गराउने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
मोर्चाले मधेस आन्दोलनमा दमन गरेको भन्दै सरकारविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत र सर्वोच्च अदालतमा निवेदन दिनेसमेत जनाएको छ । सुनसरीको इनरुवामा केही व्यक्तिले चीनको झन्डा जलाएको घटनाको निन्दा गर्दै मोर्चाले त्यस्ता गतिविधिलाई अवाञ्छनीय भनेको छ ।

Leave A Reply

Your email address will not be published.