बागमती र मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

0

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

आज दिउँसो मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

जम्कट्टेल गत पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जम्कट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

उनलाई मुख्यमन्त्रीमा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले आज दिउँसोे विश्वासको मत लिने कार्यसूची छ ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनलाई ७२ जना सांसदको समर्थन रहेको छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए ।

मधेश प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र नेकपा एसका ७ सांसद छन् ।

त्यतै आजै मधेशमा सभामुख चयन पनि हुँदैछ । सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल रायको उम्मेदवारी परेको छ ।

सोमबारका लागि तोकिएका कार्यक्रम राष्ट्रिय शोकका कारण स्थगन गरी मंगलबारका लागि तय गरिएको हो ।

Leave A Reply

Your email address will not be published.