चुनावबाहिर तीन कम्युनिष्ट पार्टी

0

काठमाडौं : तीन वटा कम्युनिष्ट पार्टी ४ मङ्सिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव बाहिर रहने भएका छन् । 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा भाग नलिने बताएका हुन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । 

उनीहरुले निर्वाचन बहिष्कारका कार्यक्रम सार्वजनिक समेत गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनले समाजवादमा पुग्न मद्दत नगर्ने भएकाले त्यसलाई भण्डाफोर गर्दै बिथोल्ने गरी अभियान चलाउने निर्णय उनीहरुको छ । उक्त भण्डाफोर अभियानमा सरकारले दमन गरे त्यसको प्रतिकार गर्ने चेतावनीसमेत दिइएको छ । यस अभियानमा सामना परिवारले जनसांस्कृतिक अभियान समेत चलाउने भनिएको छ । 

नेकपाले भण्डाफोर अभियान चलाउने र चुनाव बिथोल्ने निर्णय गरेको भोलिपल्टै अर्थात् कात्तिक १६ गते अन्य साना कम्युनिष्ट पार्टीहरूले पनि निर्वाचन बिथोल्ने निर्णय गरेका हुन् । आगामी कात्तिक १९ गते शनिवार पत्रकार सम्मेलन नै गरेर आन्दोलनको घोषणा गरी भण्डाफोर अभियान चलाउने र निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुने उनीहरूको चेतावनी छ । 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिको तर्फबाट जारी संयुक्त विज्ञप्तिमा दलाल पुँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मङ्सिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिष्कार र खारेजी गर्ने निर्णय गरेको बताइएको छ । 

निर्वाचनमा भाग नलिने निर्णय गरेपछि विप्लव समूहका नेता तथा कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको छ । निर्वाचनमा मतदान नगर्ने र बिथोल्ने कुरा एउटै नभएको निचोडसहित प्रहरीले निगरानी बढाएको हो । 

अघिल्लो संसदीय निर्वाचनमा पनि निर्वाचन बिथोल्ने भन्दै राजनीतिक दलका नेता र कार्यकर्तालाई लक्षित गर्दै बम विस्फोटसम्मका घटना भएको कारण विप्लव लगायतका साना कम्युनिष्ट पार्टीको निर्वाचन बिथोल्ने घोषणापछि निर्वाचन आयोग र सुरक्षा निकायले सुरक्षाको नयाँ योजना बनाउन थालेका हुन् । 

Leave A Reply

Your email address will not be published.