बाजुराको बूढीगंगामा पुनः मतदान सम्पन्न, ६६ प्रतिशत मत खस्यो

0

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकामा ६६ प्रतिशत मत खसेको छ । 

बिहीबार भएको पुनः निर्वाचनमा १३ हजार ६ सय ५९ मत मध्य ६६ दशमलव ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

कार्यालयका अनुसार नौ हजार १ सय १७ मतदाताले चुनावमा सहभागिता जनाएका हुन् । मतगणना बिहीबार बेलुकाबाट नै शुरु हुने प्रशासनले जनाएको छ । 

नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । कांग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ । 

निर्वाचनको क्रममा बूढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा विवादपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने निर्वाचन शान्तिपुर्ण रुपमा भएको छ । 

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये नेतृत्व चयन हुन बाँकी स्थानीय तह बूढीगंगा मात्रै हो । निर्वाचनमा धाँधली भएको निष्कर्षपछि निर्वाचन आयोगले वैशाख ३० गते यहाँ भएको मतदान स्थगित गरेर पुनः निर्वाचन गराउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.