छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा देशभर मतदान सम्पन्न

0

काठमाडौं : स्थानीय तह सदस्य निर्वाचनका लागि शुक्रबार भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । 

केही ठाउँमा झडप र विवाद भएपनि समग्रमा निर्वाचन उत्साहपद रहेको निर्वाचन आयोगले जनाएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका लागि मिति तय गरिएको छ । 

केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन भएको छ । नेपाल प्रहरीले ३० भन्दा बढी जिल्लामा एक सय १० स्थानमा मतदान विथोल्ने प्रयास भएको जनाएको छ । 

एघार जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । विवादका कारण अवरूद्ध भएका ४० वटा मतदानस्थलमा पुनः मतदान भएको छ । 

काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही स्थानमा भने मतदान स्थगित गरिएको छ । मतदानको नयाँ मिति आयोगले तोक्ने बताइएको छ । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित भएको छ । 

देशभरका कूल १० हजार ७ सय ५६ मतदानस्थलमा रहेका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान सात बजेदेखि मतदान सुरु भएको थियो । ७ सय ५३ स्थानीय तहका कूल ३५ हजार २ सय २१ पदमा निर्वाचन भएको हो । 

६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिकामा गरी २ सय ९३ प्रमुख र उपप्रमुख, ४ सय ६० गाउँपालिकामा एक–एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने आयोगले जनाएको छ । त्यसमध्ये ३ सय ९० जना यसअघि नै निर्विरोध भइसकेका छन् । 

कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन । स्थानीय निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका थिए । तिमध्ये करिव ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । 

निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक तथा दुई लाख ६० हजार सुरक्षाकर्मी खटिएका थिए ।

Leave A Reply

Your email address will not be published.