आईसिसीलाई चुनौती होइन, निकासका लागि एनसिसी विश्व भेला बोलाइएको हो,

0

अमेरिका (जीएनएन)- गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्यौल चिर्न एनसीसीहरुको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् ।

भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न सकारात्मक् निकासका लागि उपयोगी पहल थाल्न उनीहरुले आग्रह गरेका छन् ।

महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी )हरुको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । “गैरआवासीय नेपाली संघमा एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ आगामी आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए । ‘एनसीसीका साथीहरुले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि भेला आयोजना गरेका हौं’ उनले भने । यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे ।

‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौं । यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौं । विधानको १६.४ मा एनसीसी अध्यक्षहरुको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ । हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्याउने छौं ।’

‘विधि विधान अनुसार नै विश्व भेला’

आयोजकहरुले संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व भेला आयोजना गर्न लागेको उनले बताए । भेला उद्घाटन समारोहमा परराष्ट्रमन्त्री, संघका पूर्व अध्यक्षहरु, आईसीसीका पदाधिकारीहरु लाई निमन्त्रणा गरिएको उनले बताए । त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरुबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले जानकारी दिए ।

केन्द्रीय महाधिबेशनको बैधानी प्रकृया पुरा भए एनसीसीहरु केन्द्रलाई तिर्नु पर्ने सदस्यता शुल्क तिर्न तयार रहेको पनि उनले बताए ।

एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक संकटकालिन स्थितिमा एनआरएनए पुगेको टिप्पणी गरे । ‘यो समयमा हामी आफै सक्रिए भएर निराकरण नगरेमा एनआरएनए नै रहने, नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौं’, उनले भने, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो ।’

कार्यक्रममा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरुको काँधमा पनि जिम्मेवारी आएको बताइन । ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरु लाग्नुपर्छ’, उनले भनिन, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु ।’

कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरुको भेला विधान सम्मत रहेको स्पष्ट परे। । ‘संसोधित विधान अनुसार १६.१.४ मा आशय लेखिएको छ । राष्ट्रिय समितिहरुको आधारमा आईसीसी बनेको हो । १८ वर्षमा पहिलो पटक हुन लागेकाले असहज लागेको हुन सक्छ’, श्रेष्ठले भने, ‘कर्तव्य सँगसँगै अधिकार पनि आउने भएकाले आईसीसी प्यासिभ हुँदा एनसीसी एक्टीभ हुनसक्छ भन्ने आसय भएको श्रेष्ठले बताए, ‘एनआरएनए फुटाउने भन्ने होइन । केन्द्रले एनसीसीलाई निर्देशन दिदा बिधानमा उल्लेख नभएको बिषय भए आचारसंहिताको पालन हुनु पर्छ ।

त्यसैगरी एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पहिलोपटक १० औं महाधिवेशन तोकिएको समयमै नभएकाले एनसीसीहरु अन्यौलमा परेकाले अन्यौल हटाउन आफुहरु लागि परेको जानकारी दिए । ‘नेपाल सरकारले मान्यता दिएको संस्थालाई एक ढिक्का बनाउनु पर्छ र अन्यौल हटाउनु पर्छ भनेर नै लागेका छौं’, उनले भने, ‘ दशौँ महाधिवेशन तथा चुनाव ३० नोभेम्बर भित्र हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । एनसीसी बिना आईसीसी चल्दैन । हामीले यो उहाँहरुलाई झकझक्याएको मात्र हो ।’

कार्यक्रम दुई तहमा गरिने र भेलामा ६२ एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहने संयोजक सुवेदीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.