सेना परिचालन फिर्ता लिन अध्यक्ष वैद्यको माग

0

काठमाडौँ, ९ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गर्नुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै गृहप्रशासनको लापर्बाहीका कारणले सो घटना भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “चालीस हजारको जुलुसलाई रोक्न ४० जनामात्रै प्रहरी किन परिचालन गरेको ?, राज्यको लापर्बाहीले कैलाली घटना घटेको हो ।” अध्यक्ष वैद्यले कैलालीमा प्रशासनको मिलेमतोमा उत्पीडित थारु समुदायलाई दमन गर्न थालिएको भन्दै त्यसलाई रोक्न पनि माग गर्नुभयो । संविधानसभाको अहिलेको प्रक्रिया रोकी सर्वपक्षीय राजनीतिक सभामार्फत निकास निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सेना परिचालन र निषेधाज्ञा लगाएर ल्याइएको संविधान दिगो नहुने बताउँदै उहाँले आन्दोलनरत सबै पक्षसँग संवादमार्फत समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले सरकारले आफूहरुलाई वार्तामा नबोलाएको स्पष्ट पार्दै वार्ताका लागि आफ्नो दल तयार रहेको जानकारी दिनुभयो ।
साम्प्रदायिक गतिविधिको अन्त्य तथा सामाजिक सद्भाव कायम गर्न पनि अध्यक्ष वैद्यले अपिल गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.