एमाओवादी सभासद गौरीशंकर चौधरीले कांग्रेस र एमालेको हठका कारण कैलालीको टिकापुरमा विरोध प्रदर्शन हिंस्रक बनेको बताएका छन् । ईमेज एफएमसँग मंगलबार बिहान कुरा गर्दै कैलाली–४ का सभासद चौधरीले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि स्थिती नियन्त्रणबाहिर गएको बताए । उनले भने, ‘थारु आन्दोलनको योजना प्रहरीको हत्या गर्ने होइन,’ उनले भने, ‘प्रहरी हस्तक्षेपका कारण उत्तेजित भीडले प्रहरीमाथि आक्रमण गरेको हो ।
उनले सो घटनामा आफ्नो पार्टी एनेकपा माओवादी निर्दोष रहेको समेत बताए । सबै जातजातिको अधिकारका लागि आफ्नो पार्टीका नेताहरु पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई लडिरहेको समेत उनले बताए ।
उनले थारु समुदायले हक, अधिकार नपाएसम्म शान्तिपूर्ण आन्दोलन नरोकिने बताए । उनले हतियार बोकेर आन्दोलनमा जानु गलत हो भन्दै थारुहरु आन्दोलनमा हतियार बोकेर नगएको दाबी गरे । उनले टिकापुर घटनामा कुनै प्रकारको घुसपैठ नभएको जिकिरसमेत गरे । जनता नै आक्रोसित भएकाले सो घटना भएको उनको भनाई थियो ।