आन्दोलनमा घुसपैठ : थारू नेताहरू

0

काठमाडौं ८ भदौ । थारू नेताहरूले सोमबारको कैलाली घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनीहरूले आन्दोलनमा घुसपैठ भएको स्वीकार्दै शान्तिपूर्ण आन्दोलनको पक्षमा आफ्नो प्रतिबद्धता जनाएका छन् । दुई सातादेखि जारी थरुहट संघर्षलाई बेवास्ता गर्दै मुख्य दलहरूले मनलाग्दी संघीय प्रदेश थोपरेको, आफ्नो आवाज नसुनेको सन्दर्भमा अनपेक्षित घटना भएको भन्दै उनीहरूले त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।
सोमबार रातिसम्म सिंहदरबारमा बसेको थारू सभासद संघर्ष समिति, थारू कल्याणकारिणी सभा, थरुहट संयुक्त संघर्ष समितिको बैठकले संविधानसम्मत शान्तिपूर्ण तरिकाले आन्दोलन भएको दाबी गर्दै चारैतिरबाट प्रहरीले घेरा हाल्दा प्रतिकार भएको निष्कर्ष निकालेको छ ।
थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले कान्तिपुरसँग कुरा गर्दै घुसपैठबाट यस्तो घटना भएको भन्दै त्यसलाई ‘आन्दोलन तुहाउने षड्यन्त्र’ का रूपमा अथ्र्याए । कोबाट घुसपैठ भयो भन्ने प्रश्नको स्पष्ट जवाफ भने उनले दिएनन् । ‘आन्दोलन रोकिँदैन, शान्तिपूर्ण आन्दोलन चलाउँछौं,’ उनले भने, ‘हाम्रो आन्दोलन तुहाउन षड्यन्त्र भएको छ । हामी सतर्क भएका छौं ।’
बैठकपछि कुरा गर्दै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले पूर्वनिर्धारित हरेक गाविस कार्यालयमा थरुहट लिखित बोर्ड टाँस्ने कार्यक्रममा प्रहरीबाट घेराबन्दी भएको भन्दै त्यसपछिको प्रतिकारमा अनपेक्षित घटना भएको बताइन् ।
थारू नेताहरूले हिंसाबाट समाधान नहुने भन्दै राजनीतिक बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।
थरुहटका लागि जारी आन्दोलन नरोक्ने भन्दै सहभागी नेताहरूले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अपिल पनि गरे । थारू नेताहरूले मंगलबार दिउँसो जनजाति र मधेसी नेताहरूसँग परामर्श गर्ने निर्णय गरेका छन् । थरुहट/थारूवान संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सेना परिचालन रोक्न, राज्यले मारिएका र पीडितको क्षतिपूर्ति दिलाउन माग गरेको छ । बिनाहातहतियार शान्तिपूर्ण भेला हुने अधिकारको रक्षा गर्न राज्यसँग माग गरेको छ ।
यसैबीच, फोरम लोकतान्त्रिकको आकस्मिक बैठकमा अध्यक्ष विजयकुमार गच्छदारले कैलालीमा दु:खद र हुनै नहुने घटना भएको भन्दै त्यसलाई ‘राज्य सञ्चालकको गैरजिम्मेवार व्यवहारको परिणति’ भनेका छन् । ‘मैले जे नहोस् भनेर तीन दलका नेताहरूलाई पहिल्यै सम्झाएको थिएँ, आखिर त्यही भएर छाड्यो,’ गच्छदारलाई उद्धृत गर्दै फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले भने, ‘हामीले हिंसा चाहेका छैनौं, राज्यले संयम देखाओस् ।’
कान्तिपुरबाट

Leave A Reply

Your email address will not be published.