माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन आह्वान

0

काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले बहुदलीय प्रणालीमा दलको निर्णयविपरित दलका सदस्यले गरेका हस्ताक्षरको मान्यता र अर्थन नहुने बताए ।

त्यस्तै बैठकले पार्टी एकतालाई सुदृढ गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्दै एकताका सक्दो योगदान गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै  बाढी पहिरोबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धासुमन, घाइतेहरूको स्वास्थ्य लाभको कामना र बिस्थापितहरुको दिगो पुनर्स्थापना गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रवक्ता ज्ञवालीले बताए ।

त्यस्तै खोप अबिलम्व उपलब्ध गराएर कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ भने वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने प्रस्ताव पनि पारित भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

बैठकले कम्युनिष्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धीका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई ज्ञापन गरेको उनले बताए । 

Leave A Reply

Your email address will not be published.