आज २५६५ औं बुद्ध जयन्ती मनाइँदै

0

काठमाडौँ : आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम बिना नै मनाइँदैछ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका सङ्घ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिका वडा नं. –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।
 
बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध घ्याङ गुठीलगायत संस्थाले सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ । समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउनुहुन्छ । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रासहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।

Leave A Reply

Your email address will not be published.