प्रदेश २ मा नेकपाको संसदीय दलको नेतामा महतो, मण्डललाई हटाइयो

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले मण्डललाई हटाउँदै दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको हो ।

मण्डल नेकपा ओली र महतो नेकपा प्रचण्ड-माधव समूहका प्रदेश सांसद हुन् । संसदीय दलको नेतामा एकल उम्मेदवारी परेपछि बसेको बैठकले महतोलाई दलको नेतामा निर्विरोध रूपमा चयन गरेको हो । दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई मंगलबार नै जानकारी गराएको छ ।

मङ्गलबार नै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले सत्यनारायण मण्डलविरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको हो ।

प्रदेश दुई संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतकमा सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली रहेका छन् । प्रदेश नम्बर २ मा नेकपाका ३२ जना सांसद रहेका छन् । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा दाहाल–नेपालसँग बहुमत १९ जना सांसद र नेकपा ओली सँग १३ जना सांसद छन् ।

विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ । केन्द्रमा पार्टी विभाजन भएपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ ।

Leave A Reply

Your email address will not be published.