डिप्रेशन किन हुन्छ र यसको उपचार कसरि सम्भब छ ?

0

(मनोचिकित्सक र योग प्रशिक्षक सँग मनोचिकित्सा उपचारबारे बहस)

नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजना तथा यफएनजे बेल्जियम तथा पोर्तुगल शाखाको सह-आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिसेम्बर २० आइतबार मुख्य गरेर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा मानसिक अपसाद र त्यसको उपचारबारे टिचिङ्ग अस्पतालका मनोरोग बिभाग प्रमुख,एमडि प्राध्यापक डाक्टर सरोज प्रसाद ओझाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख बक्ता मनोचिकित्सक ओझाले मानिसको दिमागी अवसादग्रस्त स्नायुबाट सृजित तनावपूर्ण अबस्थाको निरन्तरताले मानिसलाई चरम डिप्रेशनमा लैजाने बताउदै त्यसलाई हाम्रो आदतको परिबर्तनले निराकरण गर्न सकिने बताउनु भयो ।

मानसिक अपसाद (डिप्रेशन ) प्रायः चिन्ताको कारणले हुन्छ। डिप्रेशन स्नायु हुँदै क्रमश व्यक्तिको मस्तिष्कको भित्रितहसम्म पुग्छ । अनि न्यूरोटिक डिप्रेसनले चरम उदासीनाताको बाटो हुँदै सरिर भरि निरन्तर आफ्ना प्रतिक्रियाहरु देखाउन थाल्छ। मनोचिकित्सक ओझाले भन्नु भयो ‘यसको उपचार छ, संघन उपचार र योग अभ्यास मार्फत उपचार। ‘ उहाँले भन्नु भयो,’संसारभर प्रयेक ४० सेकेन्डमा १ जना चरम निरासाकै कारण आत्महत्या गर्दछन। त्यस्तै भारतमा प्रतेक २ मिनेटमा १ जना आत्महत्या गर्दछन भने नेपालमा हरेक दिन १५ /२० जना आत्महत्या गर्ने गरेको देखिन्छ।

डाक्टर ओझाले थप्नुभयो,’निराशा र दुखबाट सृजित चिन्ताबाट हाम्रो सरिरको हार्मोन उत्सर्जनमा असन्तुलन हुन्छ र मान्छेले आफ्नो जिबनको बारेमा गलत निर्णय लिन्छ। त्यसैले शरीरको स्वास्थ जति महत्वपुर्ण छ त्यतिकै दिमाग वा स्प्रिचुवल हेल्थको पनि महत्व हुन्छ। त्यसैले निरासाको कारण मृत्यु रोजेर भाग्ने भन्दा दुखसंग सकारात्मक सोच लिएर लड्ने हो।त्यसले गलत मानसिक सोच बिरुद्धको प्रतिरोधात्मक क्षमतालाई बढाई दिन्छ। ‘ यसो भन्दै गर्दा उहाँले ‘महाभारतको लडाई पाण्डबले जित्नुमा गीताको उपदेशद्वारा अर्जुनको मानसिक अबस्थाको उपचार एक प्रमुख कारण थियो’ भन्ने उदाहरण समेत दिन भुल्नु भएन।

त्यस्तै पत्रकार महासंघ युरोप शाखाका सचिब पेम्बा गेलु शेर्पाले संचालन गरेको कार्यक्रममा अर्का विशिष्ट बक्ता हुनुहुन्थ्यो अभिनेत्री , प्रसिद्ध योग, ध्यान प्रशिक्षिका सोबिता सिंखडा। उहाँले चिन्ता, निरन्तरको सोचाई,अनाबस्यक महत्वाकांक्षा,लालचा,बेखुशी र जिबन प्रतिको चरम निराशाले नै मानसिक अपसाद निम्त्याउने बताउदै त्यसको उपचार भनेको आत्मिक र मानसिक ब्यायाम हो भन्नु भयो। उहाँले प्रत्येक दिन आंफुले चलाएको योगा क्लासमा उपस्थित भएर धेरै दिदी बहिनी तथा दाजु भाईहरुले आँफुलाई डिप्रेशन (मानसिक अपसाद ) बाट मुक्त गरेको उदाहरण दिंदै भन्नु भयो, ‘निरन्तर निरासा र चिन्ताका लक्षण देखिए भने हाम्रो योग र ध्यान प्रशिक्षणमा क्लासमा भाग लिनुहोस् र मानसिक रोगबाट मुक्त हुनुहोस्।

‘ त्यस्तै ‘इजरायलको होम केयरमा काम गर्ने नेपाली मात्र नभएर परिवारबाट अलगथलग भएर कुनैपनि देशमा संघर्ष गरिरहेका नेपालीहरु आफ्नो समुदायको सम्पर्क, सामाजिक अन्तरघुलन र पारिबारिक मायाको आदान प्रदानले पनि मानिसलाई डिप्रेशनमा जान दिदैंन’ भन्दै जन सम्पर्क समिति इजरायलकि नेत्री दिपिका भुषालले आफ्नो जिज्ञासा राख्नुभएको थियो।

साइप्रसमा अहिलेसम्म केहि नेपालीले आत्महत्या गरिसकेका छन् ,सायद त्यसको प्रमुख कारण मानसिक अपसाद हुन सक्छ भन्दै योग अभ्यास गरिरहेकी नेपाली चेली श्रुति राज्य लक्ष्मी राणाले यसको नियन्त्रणको लागि यस्ता अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। त्यसपछि इजरायलबाट महिला अभियानकर्मी उषा भुषाल सुबेदीले आँफुलाई पनि इजरायल आएको केहि बर्ष चरम निराशाले घेरेको तर योगा अभ्यास र आध्यात्मिक कथाहरुको श्रवणले डिप्रेशन मुक्त हुँदै गएको अनुभब बताउनु भएको थियो।

पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बक्ता र टिप्पणिकारहरुलाई धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरुले मानसिक पिडितहरुलाई केहि भएपनि राहत र उर्जा दिने कुरा बताउनु भयो। त्यस्तै पत्रकार महासंघ पोर्तुगल शाखाका अध्यक्ष योगेंद्र मिलन छन्त्यालले समेत मानसिक रोग र निराशाबारे आफ्नो टिप्पणी राख्नु भएको थियो।

यफएनजे युरोपका कार्यबाहक अध्यक्ष डिल्ली अम्माईको सभापतित्व र शाखाका सदस्य शेर बहादुर छन्त्यालको स्वागत मन्तब्यबाट शुरु भएको अन्तरक्रिया करिब दुई घण्टा चलेको थियो।

Leave A Reply

Your email address will not be published.