
गैर आवासीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन्न साधारणसभामा संघका केन्द्रिय पदाधिकारीहरुले नै आक्रोशपूर्ण मन्तब्य राखेका छन् । विशिष्ट अतिथिको रुपमा शुभकामना दिन बोलाइएका संघका अध्यक्ष कुमार पन्त र महासचिब हेमराज शर्मा लगायतका पदाधिकारी निकै आक्रामक रुपमा प्रस्तुत भए पछि बेल्जियमका पन्जिक्रित सदस्यहरुले त्यस बिरुद्ध प्रस्ताब पास गर्न अनुरोध गरे ।
नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला लगायतले फेरी यस्तो अवस्था नाअोस भन्दै प्रस्ताब गरे पछि संघका बेल्जियम अध्यक्ष चित्र सुबेदीले शुभकामना दिन बोलाएका अथीतिहरु बिरुद्ध प्रस्ताब पास गर्न मर्यादित नहुने, नमिल्ने प्रष्टिकरण दिनु पर्यो ।
संस्थापन पक्षले आफुहरुले ल्याएका एजेन्डामा बिरोधका लागि बिरोध गरेको आरोप लगाए भने अर्को पक्षले संस्थाको जीबनमा दीर्घकालिन असर गर्ने बिषयलाई ब्यापक बहस, छलफल गरेर सबैको सहमतिमा अगाडि बढाउनु पर्नेमा बिबादको बिषय बनाइएको आरोप लगाए ।
कार्यक्रमको सुरुमा बोलेका युरोप संयोजक नारायण आचार्यले एनसीसीहरुले भोगी रहेका चुनौती र समाधानका सम्भाबना पनि उनीहरु संगै छलफल गरेर लिएमा दीर्घकालिन हुने हुँदा कसैको आग्रह र प्रभाबमा भन्दा पनि संस्थाको हित सोचेर निशुल्क सदस्यता लगायतका बिषयमा निर्णय गर्नु पर्ने बताए । बिशेष महाधिबेशन लगायतका बिषयमा आईसिसीमा फरक बिचारको बहस भैरहेको र त्यसलाई विश्वासको बातावरणमा संगठनको दिर्घकालिन भबिष्यको ख्याल गरेर निर्णय गर्नु पर्ने बताए ।
अलि आक्रामक भएर प्रस्तुत भएका महासचिब हेमराज शर्माले संस्थामा पावर, पैसा र पोलिटिक्सको प्रबेश भएको, यसले भबिष्यमा अझ डरलाग्दो रुप लिने खतरा रहेकोले सचेत रहनु पर्ने बताए । स्मार्ट एनआरएनए, बिशेष महाधिबेशन लगायतका बिषयमा बोलेका शर्माले पररास्ट्र मन्त्रालयको स्वीक्रितीमा बिशेष महाधिबेशन हुन लागेकोले यसको बिरोध गर्नु मन्त्रालयको बिरोध भएको ठहरिने हुँदा जनवरीमा जसरी पनि बिशेष महाधिबेशन सम्पन हुने दाबी गरे । आईएलओले संघलाई गरेको १० करोड सहयोगमा कुनै गडबडी नभएको र खर्च विवरण छिट्टै सार्वजनिक गर्ने उनले बताए ।
पूर्व उपाध्यक्ष एबम सल्लाहकार कुल आचार्यले गैर आबासीय नेपाली संघका पिल्लरको रुपमा रहेका एनसीसीहरुको चासो र चिन्ताको सम्बोधन गरौ, स्थायीत्वको श्रोत पत्ता लगाउने बहसलाई प्राथमिकतामा राखौ भन्नुलाई बिरोधको लागि बिरोध गरेको भन्नु जायज नहुने बताए । संयमित भएर छोटो बोलेका आचार्यले संस्थाको आधिकारिक गतिशिलता रोकिएको महशुस सबैले गरेको बताउदै संस्था भित्र आफ्नो आवाजको सुनुवाई नभएर पदाधिकारीहरुले नै सार्वजनिक फोरमको प्रयोग गर्नु पर्ने बाध्यता आउनु दु:खद भएको बताए । संस्थागत प्रकृयाबाट मात्र संस्थाका गतिविधि बाहिर आउनु पर्ने र पर्दा पछाडिबाट संगठनका गतिबिधी हुन नहुने आफुहरुको मुख्य एजेन्डा भएको पनि उनले बताए ।
उपाध्यक्ष डा बद्री केसीले एनआरएनएले कोभिड १९ को कारणले संकटमा परेका प्रबासी नेपालीहरुलाई राहत दिन सक्दो प्रयास गरेको, नेपाल सरकारलाई नीतिगत निर्णय गराउन दबाब दिएको र केही मात्रामा सन्तोष हुन सक्ने गरी काम भएको बताए । आफ्ना आमा बुवाको मृत्यु हुँदा काजकृया गर्न जान नपाउने अवस्था सिर्जना हुँदा पनि गर्भवती महिला, अपाङ्ग भएका श्रमिक साथीहरु लगायतलाई एनआरएनएले सहयोग गरेको बताए ।
महिला उपाध्यक्ष रबिना थापाले हामीले नेपाली समुदायलाई सहयोग हुने एजेन्डा र एनआरएनएको वृहत्तर हितमा हुने कामको बिरोध नगरेको, एनआरएनएलाई प्रकृया र पद्धतीले अगाडि बढाउनु पर्छ भन्दा गुट उपगुटमा बिभाजित गरेर दबाउने काम अध्यक्ष र महासचिबले गरेको आरोप लगाइन । उनी भन्दा अगाडि बोलेका महासचिब र अध्यक्षका आरोपहरु गैर जिम्मेवार र पदीय मर्यादा बिपरित भएकाले त्यसले संस्थाको भलो नहुने भन्दै आपत्ति जनाइन । अर्को गुटको भनेर पेल्ने , संस्थाका गतिबिधीबाट अलग्याउन प्रयास गर्नु गलत हो भन्दै अध्यक्ष र महासचिबले प्रतिनिधिहरुलाई भेडा बाख्राको संज्ञा दिनु संस्थाको अपमान र आम एनआरएनको स्वाभिमान माथिको आक्रमण हो भनिन । संगठनात्मक पद्धती , सहमति र एकताको बिकल्प नभएको उनको भनाइ थियो ।
अर्का उपाध्यक्ष अर्जुन श्रेष्ठले साधारणसभाको सफलताको शुभकामना दिदै जटिल परिस्थितिमा पनि समुदायको हितमा काम गरेकोमा एनआरएनए बेल्जियमको प्रशंशा गरे । गैर आबासीय नेपाली संघकी निबर्तमान सचिब जानकी गुरुङले संचार माध्यममा आएका संगठनका गतिबिधी सकारात्मक नभएकाले बर्तमान नेत्रित्वले त्यसको समाधानको लागि कदम चाल्नु पर्ने र गत निर्वाचनमा भएको विधान विपरितका कुराहरु सच्याउन साधारणसभामा लानु जायज हुने, बिशेष महाधिबेशन भर्चुअल माध्यमबाट गर्नु उपयुक्त छ कि छैन ? भन्दै प्रश्न गरिन ।
गैर आबासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघ भित्र भएका बेथीतिहरुले संस्थाका शुभचिन्तकहरुलाई सोच्न वाध्य बनाएको र १७ बर्षको अनुभबले परिवर्तनको आबस्यक्ता छ भन्दै अब यसबारे बहस गर्नै पर्छ भने । संघका युरोप संयोजक नारायण आचार्यको नामै लिएर उँहाहरु राजनितिक आइडोलोजीले संघलाई प्रयोग गर्न चाहनु हुन्छ भन्ने आरोप लगाए । धम्किको भाषामा त्यसको प्रतिबाद गरिने बताउदै कहाँ कहाँ त्यस्ता राजनीतिक बैठक हुन्छन, रेकर्ड छ भन्दै संस्थाको गतिबिधी गर्न कसैले रोक्न नसक्ने बताए ।
गत निर्बाचनमा देखिएका बिक्रितीहरुलाई अब हुन नदिन परिवर्तन अपरिहार्य भएको कुरा महशुस भएको छ भन्दै राजनितिक चलखेल र पैसाको चलखेलको चुनौतीलाई सामना गर्न सबैको सहयोग आबस्यक रहेको औल्याए । एउटै टाउकालाई पाच ठाउँमा देखाएर भेडा बाख्रा जसरी प्रतिनिधिहरु किनबेच भएका भन्दै आफुले पनि प्रतिनिधि किन्ने गल्ती गरेको स्वीकारे । गत साता भएको आईसिसी बैठकको निर्णय सार्वजनिक नगरिएको र निर्णय नभएको कुरा समाचारमा आएका भनेर उपाध्यक्ष लगायतका पदाधिकारीहरुले शनिबार गरेको पत्रकार सम्मेलन तर्फ इङ्गित गर्दै अध्यक्ष पन्तले त्यो सह्य नहुने तर्क गरे ।
संस्थाको लागि सबैलाई बिश्वासमा लिन आफु तयार रहेको पन्तले बताए पनि बिबादको सकारात्मक समाधान गर्ने पहलकदमी बारे सुन्ने आशा गरेका शुभचिन्तकहरु भने सन्तुष्ट हुन सकेनन् ।