एनआरएनएमा रोटरीको जस्तो चुनाव प्रणाली ल्याउँ: डा. शेष घले

0

दोहा (जीएनएन) — गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले संघमा पनि अन्तर्राष्ट्रिय कल्याणकारी संस्था , रोटरी इन्टरन्याशनल, को जस्तै चुनाव प्रणाली अपनाउन प्रस्ताव गरेका छन्। 

एनआरएनए मध्यपूर्वको सातौं क्षेत्रीय बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घलेले आफ्नो कार्यकालमा तयार गरिएको ‘भिजन २०२० एण्ड बियोंड नामक दस्तावेजको स्मरण गरे । उनले भने, ” उक्त दस्तावेजलाई ३६ महिना अघि एनआरएनएले सर्वसम्मतिले पारित गरेको थियो।  उक्त दस्तावेज अहिले पनि एनआरएनको वेबसाइटमा उपलब्ध छ।  म साथीहरुलाई त्यहाँ गएर पढी दिनुहुन अनुरोध गर्दछु।”

“हाम्रो संस्था रोटरी जस्तो किन हुन सक्दैन? हामी कहाँ नेतृत्व किन रोटेट हुन सक्दैन? हामीलाई अहिले हाम्रो संस्थालाई संसारको साच्चिकै जीवन्त ग्लोबल संस्था बनाउन सक्ने अवसर छ । यो  सबैको लागि चासोको विषय हो,” उनले भने।

“मैले २,२ पटक चुनाव लडे। त्यो परिस्थितिको कुरा हो। आइसीसी मात्रै होइन, एनसीसीमा पनि, अध्यक्ष मात्रै होइन सबै पदमा, हामी किन मिलेर यो संस्था चलाउन सक्दैनौं। हामी किन एकताबद्ध हुन सक्दैनौं? अहिलेको अवस्थामा एउटा कुरा आवश्यक छ त्यो हो एकता।  कोभिडले विदेशमा रहेको हाम्रो जस्तो समुदायलाई  धेरै पछाडी धकेलेको छ।  कोभिडले हामीलाई अझ पछाडी पार्दैछ।  यस्तो बेलामा हामी कसरी एकतावद्ध हुने?,” घलेले प्रश्न गरे।

हाल अस्ट्रेलियामा बसोबास गर्ने डा. घलेले कानूनी रुपमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी ) अलग संस्थाहरु भएको बताए।  “यो एउटा नेटवर्क, सम्झौता हो, त्यो सम्झौतालाई विस्तार गर्नको लागि हामीले तिनीहरुलाई स्वायत्तता दिन सक्नु पर्छ त्यस पछि मात्र हामी विस्तारित हुन सक्छौं,  बलियो एनसीसी बनाउँ , बलियो सचिवालय बलियो बनाउँ, हामी सबैलाई अंकमाल गर्न सिकौं।  यो अभूतपूर्व समय हो, यसलाई कोभिडले ल्याएको अवसरको रुपमा लिउँ,”  घलेले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले कोभिड-१९ का कारण रोजगार गुमाएर नेपाल फर्केका नेपालीहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न “एक एनआरएन एक रोजगार” को प्रस्ताव राखे । 

“लाखौं नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कीरहनु भएको छ। उहाँहरुलाई नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने चुनौती छ। त्यसका लागि एनआरएनएले पनि पहल गरोस् भन्ने मेरो चाहना हो,” आचार्यले भने।

“महँगो चार्टर्ड उडानमा टिकट काटेर दशौँ हजार नेपालीहरु घर फर्कनु भएको छ, तर अझै पनि हजारौं नेपालीहरु स्वदेश फर्कन पर्खि रहनु भएको छ।  मैले सार्वजनिक रुपमै सम्माननीय प्रधानमंत्रीज्यूलाई अलपत्र परेका दाजुभाइ दिदी बहिनिहरुलाई निशुल्क उडानको व्यवस्था मिलाई दिनोस् भन्दै सार्वजनिकरुप मै अनुरोध पनि गरें।  तर अहिले कोभिड-१९ फैलिएको सात, आठ महिना पछि पनि कैयौं नेपालीहरु विदेशी भूमिमा अलपत्र पर्नु दुखको विषय हो।  म फेरि  यही मन्चबाट जति सक्दो चांडो दशैं, तिहार, छठ जस्ता नेपालीहरुका प्रमुख चाड अगावै स्वदेश फिर्तीको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु,” एनआरएनएका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका आचार्यले भने।

“अहिले फ्री मेम्बर्शिप, अनलाइन भोटिंग जस्ता प्रस्तावहरु पनि अगाडी सारिएका छन्। संगठनलाई मजबूत बनाउने किसिमले, एनसीसीहरुलाई बलियो बनाउने किसिमले, सबै नेपालीहरु अटाउने एनआरएन बनाउने हिसाबले यी प्रस्तावहरुको बारेमा खुला छलफल गर्न म आग्रह गर्दछु,” आचार्यले भने।

सम्मेलनलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले युरोप, अमेरिकामा रहेका एनआरएनहरुलाई नेपाल फर्केका नेपालीहरुलाई रोजगारी सिर्जना गर्नमा सघाउन आग्रह गरे।  अर्का पूर्व अध्यक्ष देवमान हिराचनले नेपाललाई अर्ग्यानिक देश बनाउने अभियान अन्तर्गत अहिलेसम्म आफ्नो कम्पनीले २८ हजार नेपालीहरुलाई तालिम दिइ सकेको बताए। संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले श्रमिकहरुको सम्मान हुन सकेमा मात्रै देशको समृद्धि हुन सक्ने बताए।

एनआरएन मध्यपूर्वको बैठक शनिवार सम्पन्न भएको छ । 

Leave A Reply

Your email address will not be published.