
फ्रान्समा रहेका लेखक तथा पत्रकार ददि सापकोटाको चौथो कृति ”बनको बैभब” सार्वजनिक गरिएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रम बिना पुस्तक बजारमा ल्याइएको हो।
यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो। पुस्तकमा जीव जनावरहरूको आनीबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ।
यो पुस्तक चराचुरुंगी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न मात्र होइन, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै उपयोगी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको भनाइ छ ।
‘पुस्तक रमाइलो पाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययन अनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन्।’ पुस्तकमा रहेका सन्दर्भ सामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने र नेपाली वाङ्मयमा यस किसिमको पुस्तक लेखिनु खुसीको विषय रहेको उनले बताए।
तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनीबानीबारे चर्चा गरेका छन्।
‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखे भोगेका तथ्यहरूको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटाले भने, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटहरूको सहयोग लिएको छु। जीवजन्तुबारे प्रकाशित धेरै पुस्तक अध्ययन र टिभीका कार्यक्रम हेरेको छु। त्यसैले यो पुस्तक मेरो समग्र साधनाको उब्जनी पनि हो।’
प्रबासमा रहेर लेख रचना तयार गर्नु चुनौतीपूर्ण हुन्छ नै त्यसमा पनि जीब जन्तुको दैनिन्दिनी बुझ्नु जङ्गल नपुगी हुँदैन, जङ्गलको कुमारीपन देखेका र बाल्यकालमै जनावरको जवानीका बाछिटाले भिजेका लेखक सापकोटाले बनलाई हरपल उल्लासमय बनाउने जैबिक रहस्यको बैभबलाई किताबमा साच्चै चाखलाग्दो गरी उतारेका छन ।