काठमाण्डौं – आगामी पुस ४ गते संसदको हिउँदे अधिवेशन आह्वान भैसकेको छ । नेपालको इतिहासकै शक्तिशाली मध्यको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार जनचाहना अनुसार चल्न नसकेको आम जनगुनासो नयाँ हैन, सामाजिक रुपमै असन्तुष्टिको चर्को स्वर सुन्न थालिएको पनि पहिलोपटक पक्कै होइन ।
यहि शक्तिशाली सरकारले गरेका गल्तीको महसुस गराउने, राम्रो कामको प्रोत्साहन गर्ने र बाटो बिराएको खण्डमा सचेत गराउँदै सहि मार्गमा हिड्न बाध्य पार्ने प्रमुख प्रतिपक्षी दल भने आन्तरिक किचलो र गुटबन्दीको दलदलमा फस्दै राजनैतिक रुपमा निष्क्रिय र मृत बन्दै गएको छ ।
देशमा भर्खरै सम्पन्न उपनिर्वाचनमा भक्तपुर र धरान जस्ता रणनैतिक महत्त्वका ठाउँमा बाजि मारेर आफ्नो प्राण भर्न लागेको कांग्रेस चर्चित नेपाली उखान `विनासकाले बिपरित बुद्धि´ को शिकार हुन पुगेको छ । संसदको हिउँदे अधिवेशन सँगै आम जनताका समस्या र देशको सार्वभौमसत्ता माथि नै चुनौती देखिएको अहिलेको अवस्थामा कांग्रेसको आन्तरिक किचलो ले कांग्रेसलाई कोमामा पुर्याउने नै छ त्यसको मुल्य नेपाल र नेपालीले समेत चुकाउनु पर्ने अवस्था आउन पनि सक्छ ।
प्रमुख प्रतिपक्षी दलका नेता एंब कांग्रेस सभापति शेर बहादुर देउवाको बालहठ र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौलाको भागबन्डा मात्रै खोज्ने प्रवृत्तिले आगामी दिनमा कांग्रेसलाई कता पुर्याउने हो त्यो अत्तोपत्तो नै छैन । नेपालको राजनैतिक इतिहासमा सशस्त्र संघर्षको नेतृत्व गरेर मुलुककै पहिलो पार्टी सम्म निर्माण गर्न सफल नेकपाका हालका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको गलत कार्यशैलीकै कारण तत्कालीन नेकपा माओवादीको हरिबिजोग भएको तथ्य धेरै पुरानो हैन । सशस्त्र युद्ध बाट चमत्कारिक नेताको छवि बनाएका प्रचण्ड आज प्रधानमन्त्री ओलीको सानिध्यताबाट प्राप्त भएको कार्यकारी अध्यक्षको पदमा मख्ख पर्नुपरेको इतिहास कांग्रेसी नेताले गहिरोसँग मनन गर्न आबश्यक छ ।
सभापति देउवा आफ्ना प्रीय पात्रलाई बोकेर बोहोराटारको दौरा लगाउन छाडेर आफ्ना कमीकमजोरिको निर्मम समिक्षा गर्दै गुटको मात्रै सभापति नभएर समग्र पार्टीको सभापति बन्ने चेष्टा गरेमात्रै पनि समस्याको समाधान निस्कने कुरामा दुईमत नहोला । अन्यथा कुनै कालखण्डमा नेपालको राजनैतिक इतिहासमा कांग्रेस भन्ने पार्टी पनि थियो भनेर इतिहासका विद्यार्थीले पढ्नुपर्ने अवस्था नआउला पनि भन्न सकिन्न । अर्कोतिर पार्टीको हरेक निर्णयमा आफ्नो भाग मात्रै खोज्ने प्रवृत्तिले पौडेल र सिटौला समुहलाई पनि कांग्रेस नरहे आफ्नो अस्तित्व नरहने कुराको हेक्का समय छँदै रहनुपर्छ ।
अन्धो र लङ्गडो भातृसंगठन लिएर अगाडि बढेको नेपाली कांग्रेस अब पार्टी भन्दा पनि गुटहरुको महासंघको रुपमा परिणत हुँदै गरेको यथार्थ स्वीकार गर्दै आफू सुधारको बाटोमा लागे मात्रै सरकारलाई पनि सहि मार्गमा ल्याउँछ कि भन्ने आशा गर्न सकिन्छ । अरुलाई लोकतान्त्र र प्रजातन्त्रको पाठ पढाउन अगाडि सर्ने कांग्रेसले आफुलाई लोकतान्त्रिककरण गर्ने बाटोमा अग्रसर हुन्छ कि हुन्न त्यसले पनि कांग्रेसको आगामी भविष्य तय गर्नेछ । उसै पनि कांग्रेस र कम्युनिस्टको बिचमा खासै अन्तर नरहेको वा नदेखिएको भन्ने कुरा नागरिक तहबाटनै आउन थालेको लामै समय भैसक्यो ।
महाधिवेशनको बिषयलाई लिएर अहिले कांग्रेस भित्र जुन किसिमको विवाद देखिएको छ त्यो आन्तरिक शक्ति आर्जनको कुरा मात्रै भएकोले लोकतान्त्रिक व्यवस्थामा वास्तविक शक्ति आर्जनको माध्यम जनमतमा कांग्रेस चिप्लीयो भने पार्टीमा जुनै समूहले एकाधिकार कायम गरेपनि त्यसको के अर्थ होला ? आफ्नो जीवनभर कोइराला समुहको आलोचना गरेर अवदेखी पार्टीको भागबन्डा अन्त्य गर्ने भन्दै सभापतिमा बिजयी बनेका देउवाले आफ्नो कार्यशैली नसच्याउने, भागबन्डा खोज्नमै ब्यस्त बनेका पौडेल र सिटौलाले आफ्नो औकात नहेर्ने अनि आफुलाई युवानेता दावी गरेर फेसबुकका भित्तामा अरुको कमजोरी मात्रै देखाउने आफ्ना पार्टी र गुटका नेताहरूले चम्चामा पानि तताएर आत्महत्या गर्नु सीवाय अर्को विकल्प नहोला कि ?