ओलीको भाषण : आकाशको फल आँखातरी मर्

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आकाश छुने सपना देखाउँछन् । जब भाषण गर्न थाल्छन् । बहकिदै भएभरको बोलिदिन्छन् । तर, कार्यान्वयनको चरणमा भने सुन्यता नै हुन्छ। केही समय पहिले सार्वजनिक समारोहमै प्रधानमन्त्री ओलीले अब काठमाडौंका सडकमा माग्ने देखिदैन् भनेका थिए । नेपाली जनताहरु कसैलेपनि अब माग्न नपर्ने र माग्ने दिन गए समेत भनेका थिए । तर, अवस्थामा भने सुधार आएको पाइदैन् । अझैपनि काठमाडौंका सडकहरुमा माग्नेको ताँती छ ।

कुनै एक व्यक्ति सार्वजनिक यातयातबाट झरेर जब गाडीको पैसा दिन थाल्छ माग्नेहरुले उसको हातबाटै पैसा खोस्न खोज्छन् । मुख्यगरि काठमाडौंका प्रमुख स्थानहरु जमल, रत्नपार्क, मन्दिर तथा गुम्बारहरुमा र चक्रपथ एबं टुणिखेलको वरिपरि सधैँ माग्नेहरुको ताँती देखिन्छ ।
प्रधानमन्त्री ओलीले २०७५ चैत २८ गतेको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए । ‘अब कुनै पनि नेपालीले सडकमा बसेर माग्न पर्दैन ।’ प्रधानमन्त्री ओलीले भने कसैले सडकमा मागिरहेको देखेमा सरकारलाई खबर गर्नुहोस् ।

‘सरकारले माग्नै नपर्ने वातावरण बनाउँछ, त्यसैले अब कसैले पनि माग्न पाउँदैन ।’ उनले भने । करिब सात महिनाअघि पनि राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा त्यही कुरा दोहोर्‍याउँदै ‘कोही व्यक्ति सडकमा मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’ त्यो पनि कार्यान्वयन भएन् ।

यसैगरि गत असोज १३ गते देशलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा उनले फेरि भने, ‘अब नेपाललाई छिट्टै सडकमानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’प्रधानमन्त्रीले पटकपटक यस्ता ‘घोषणा’ गरे पनि राजधानीका सडकमा जताततै हात थापिरहेका मगन्ते देख्न सकिन्छ । तिनको दयनीय अवस्थाले प्रधानमन्त्रीकै भनाइलाई गिज्याइरहेको छ ।

सर्लाही मलंगवाका ४७ वर्षीय किशोर साहह्वीलचियरमा बसेर पैदलयात्रुसँग पैसा माग्न हात थापिरहेका थिए । कोही उनलाई पैसा दिन्थे, केही भने वास्तै नगरी अघि बढ्थे । पैसा लिँदा उनको हात थरथर काँपिरहेको थियो । वीर अस्पतालवरिपरि माग्न बस्ने उनी मंगलबार भने न्युरोडको भूगोलपार्कमा देखिए । ‘पहिले त गाउँमा काम गरेर खान्थेँ । बस दुर्घटनामा परेर दुवै खुट्टा नचल्ने भयो,’ उनले भने, ‘आमाबुवा सानैमा बित्नुभएको थियो । घरमा दाजुभाउजूले हेला गरेर टिक्न नदिएपछि मागेर खानुपर्ने भएँ ।’ टेकुमा कोठा लिएर पढ्न बसेका भदाले उनलाई बास दिएका छन् । मागेरै उनी दैनिक तीन सय रुपैयाँसम्म भेला पार्छन् । जति रकम हुन्छ, भदालाई नै राख्न दिन्छन् । ‘मलाई उसैले पकाएर खुवाउँछ । कहिलेकाहीँ त माग्न बसेको ठाउँमै खाना ल्याइदिन्छ,’ उनले भने, ‘गाह्रो पर्दा अस्पताल लगिदिन्छ । मागेको आधा पैसा उपचार खर्चमै सकिन्छ ।’

सिन्धुपाल्चोककी ८० वर्षीया कान्छी तामाङ पनि वसन्तपुर क्षेत्रमा तीन दशकदेखि मागेरै गुजारा गरिरहेकी छन् । मागेरै उनले छोरी हुर्काइन्, पढाइन् । ‘३० वर्षअघि श्रीमान् बितेपछि छोरा–बुहारीसँगै बसेकी थिएँ, काम गर्न नसक्ने भनेर नराम्रो व्यवहार गर्न थालेपछि छोरी लिएर निस्किएँ,’ उनले सम्झिइन्, ‘धेरै वर्ष त अर्काको घरको चिसो छिँडीमा छोरी लिएर सुतेँ ।’ अहिले उनकी छोरी नै कमाएर कोठाभाडा तिर्ने भइसकेकी छन् । उनी भने बिहान १० बजेदेखि अँध्यारो नभएसम्म माग्न बस्छिन् । पैसा त दिनमा एक सय पनि हुँदैन । एक छाक पुग्ने चामलसम्म दिन्छन्,’ उनले भनिन् ।

न्युरोड र वसन्तपुरमात्र होइन रत्नपार्क, जमल, सुन्धारा, भोटाहिटी, कान्तिपथलगायत राजधानीका कुनै सडक यस्ता छैनन्, जहाँ माग्नेहरू नभेटियून् । यसरी बस्नेहरू कसैले हातखुट्टामा चोट लागेको देखाउन पट्टी बाँधेका हुन्छन् । कोही भने गम्भीर रोगले थलिएको भन्दै माइक बजाएर बस्ने हुन्छन् । कसैले ससाना बच्चा च्यापेका हुन्छन् । अझ दृष्टिविहीनहरू त गीत गाएरै सहयोग मागिरहेका भेटिन्छन् । नेपालको संविधानले आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष ०७५र७६ को बजेट वक्तव्यले समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायले सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास दिलाएको थियो । तर सडकमा माग्न बस्नेहरू न कम भएका छन्, न त तिनका लागि राज्यले केही गरेकै छ । तमाम प्रतिबद्धता उनीहरूका लागि नमिठो ठट्टा बनेका छन् ।

सडकमा माग्न बस्नेहरूका आफ्नै बाध्यता छन् । दोलखा चरिकोटका कमल क्षेत्री असन वरपर रिक्सा चलाएर परिवार पाल्थे । दुई वर्षअघि उनलाई मोटरसाइकलले ठक्कर दिएर अशक्त बनायो । ‘श्रीमती मानसिक बिरामी छिन् । छोराछोरी छैनन्,’ उनले भने, ‘कमाउने मै एउटा पनि घाइते भएपछि बिहान–बेलुकाको छाक टार्न मुस्किल भयो । माग्नुको विकल्प नै भएन । घाइते भएको दिनदेखि मैले कोठाभाडा तिरेको छैन ।’ अहिले उनी श्रीमती लिएरै असन क्षेत्रको गल्लीमा माग्न बसेका छन् । बाटो हिँड्नेले पैसा दिएको दिन उनको कोठामा खाना पाक्छ, नत्र भोकै पर्छन् । काभ्रेकी सानु तामाङले वसन्तपुर क्षेत्रमा मागेरै गुजारा चलाएको नौ वर्ष पुग्यो । ४५ वर्षीया उनका श्रीमान् भारी बोक्ने काम गर्थे । एक वर्षअघि खुट्टा भाँचिएपछि उनी पनि श्रीमतीमै आश्रित छन् । ‘छोरीहरू बिहे गरेर गइसके,’ उनले भनिन्, ‘कहिलेकाहीँ देख्छु, तर उनीहरू नदेखेजस्तो गर्छन् ।’ मागेकै पैसाले श्रीमान्लाई औषधिसमेत जुटाउने गरेको उनले बताइन् ।

सडकमा माग्नेहरूको कथा बुझ्न जाँदा कतिपयले भने हामीलाई शंकाको नजरले हेरे । कुन संस्थाबाट आएको रु हामीलाई पाल्न लैजाने हो रु भन्दै उल्टै प्रश्न गरे । बुझ्दै जाँदा थाहा भयो, माग्ने ‘धन्दा’ चलाउनेहरू पनि काठमाडौंका सडकमा कम रहेनछन् । सरिता नेपालीले दुई छोरीलाई महांकाल मन्दिरअगाडि माग्नकै लागि राखेकी रहिछन् । ठूली छोरीसहित उनी तिनको निगरानी गरिरहन्छिन् । माग्न बसेकी माइली छोरीले भनिन्, ‘बुबा सातदोबाटोमा लुगा सिलाउनुहुन्छ । कोठा पनि त्यहीँ छ ।’ आफ्नो उमेर भने उनले बताइनन् । उनीसँग कुरा गर्दागर्दै जेठी दिदी आइन् र बहिनीले भनेको कुरा पत्रिकामा नलेख्न अनुरोध गर्न थालिन् । त्यति नै बेला आमा पनि टुप्लुक्क आइपुगिन् । उनले भनिन्, ‘हामी सडकमा बस्छौं । सडकमै खान्छौं । श्रीमान् पनि यस्तै काम गर्नुहुन्छ । बच्चाको कुरा नपत्याउनु है ।’

मुलुकी अपराध संहिता २०७४ ले सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था गरेको छ । यसरी माग्नेलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । तर, संविधान र कानुनका व्यवस्था आजका मितिसम्म कागजबाट ओर्लेर माग्नेहरूसम्म आइपुगेका छैनन् ।

Leave A Reply

Your email address will not be published.