काठमाडौं, २८ असार । राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले संविधानको प्रस्तावित मस्यौदामा बहुमत नेपाली जनताको भावना विपरीत धर्म परिवर्तनलाई छुट दिइएको, जनतामा राय लिन अपर्याप्त र अव्यवहारिक समय तोकेको भन्दै उपत्यका केन्द्रीत विरोध कार्यक्रम घोषणा गरेको छ । पार्टीको कार्यसम्पादन समिति बैठकले गरेको निर्णय अनुसार उपत्यकाव्यापी विरोध कार्यक्रम तय गरिएको प्रवक्ता सगुनसुन्दर लावतीले बताए ।
घोषित विरोध कार्यक्रम अनुसार साउन १ गते १२:३० बजेबाट रत्नपार्कस्थित शान्ति बाटिकामा अनिश्चितकालिन रिले अनशन थालिने, सोही दिन स्वाधीन नेपाली भूमि लिपुलेकलाई लिएर छिमेकी मित्र राष्ट्र भारत र चीनले द्विपक्षीय व्यापार सम्झौता गरेको विरोधमा भारतीय तथा चिनियाँ दुतावासमा ज्ञापनपत्र बुझाइने जनाइएको छ ।
त्यसैगरी साउन २ गते राजधानीको नारायणगोपाल चोकमा १ बजे, शंखमुल चोकमा २:३० बजे, कलंकीमा ४ बजे र धरहरामा ५:३० बजे कोणसभा गरिने प्रवक्ता लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । साउन ३ गते ललितपुरको कुपण्डोलमा १ बजे, मंगलबजारमा २:३० बजे, जावलाखेलमा ४ बजे र लगनखेलमा ५:३० बजे कोणसभा गरिने विज्ञप्तिमा उल्लेख छ । साउन ४ गते भक्तपुर केन्द्रीत कोणसभा गरिने भएको छ । जस अनुसार १ बजे कमलविनायकमा, २:३० बजे जगतेमा, ४ बजे सिर्जनानगरमा र ५:३० बजे गठ्ठाघरमा कोणसभा गरिने जनाइएको छ ।