काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् ।
तिहार अर्थात् दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन् ।
“तिहार प्रकृतिसँग मिलेको, पशुपंक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्,” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “प्रकृतिका विभिन्न पक्षहरु बीचको सन्तुलन समेत यस पर्वमा प्रतिबिम्वित हुन्छ । ”
प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताएका छन् । “यो चाड उज्यालोको चाड यसलाई दिपावली पनि भनिन्छ । दिप अर्थात बत्तीहरु बालेर, उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न पूmलहरु सबैभन्दा धेरै प्रयोग हुने चाड हो ।
यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो” प्रधानमन्त्री ओलीले भनेका छन्, “तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रुपमा समेत लिन सकिन्छ ।”