कोठामा राखेको पेट्रोलमा आगाे सल्किँदा अनामनगरस्थित एक घरमा आगलागी

0

काठमाण्डौं – अनामनगरस्थित एकता मार्गमा एक घरमा बुधबार बिहान आगलागी हुँदा सामान्य क्षति पुगेको छ ।


एकतामार्ग स्थित अक्सिडेन्टल पब्लिक स्कूलको घर नम्बर १६६ को भुईतलामा भाडामा बस्दै आएका कृष्णप्रसाद चौलाँगाईको कोठामा ग्यालिनमा भरेर राखिएको पेट्रोलमा आगो सल्किँदा आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीबाट घरको कम्पाउण्डमा रहेको सरकारी नम्बर प्लेटको बा २ ब ४२६९ नम्बरको टीभीएस कम्पनीको रातो रंगको अपाची मोटरसाइकलमा क्षति पुगेको छ । साथै गेटमा क्षति पुगेको छ । अागलागी बुधबार बिहान पाैने नाै बजेतिर भएकाे थियाे ।

प्रत्यक्षदर्शीका अनुसार १६ लिटरको पहेँलो ग्यालिनमा भरी अवस्थामा पेट्रोलमा आगो सल्किएको र सोबाट आगो फैलिन शुरु भएको थियो । आगलागीलगत्तै छिमेकीहरु जुटेर जलिरहेको ग्यालिनलाई सडकमा निकालेका कारण ठूलो क्षति हुनबाट जोगिएको बताए ।

आगोबाट सडकमाथि टाँगिएको टेलिफोन, नेटको तारमा समेत क्षति पुगेको छ । चार÷पाँच मिनेटमै आगलागी नियन्त्रणमा ल्याउन सफल भएका थिए ।

स्रोतका अनुसार चौलागाँई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयमा कार्यरत कर्मचारी हुन् । उनले कुपनमा पाएको पेट्रोल कोठा ल्याएर राखेको र त्यसमा आगो सल्किएर दुर्घटना हुन पुगेको बताइन्छ ।

आगलागी हुँदा जुम्लाको चन्दननाथ गाउँपालिका घर भएका चौलागाँई बिहानै बाहिर निस्केको र आगलागीको खबरपछि परियोजनाको बा २ झ १९३१ नम्बरको महिन्द्र पिकअप भ्यानमा कोठा फर्किएका थिए । घरधनी भने अन्यत्रै घरमा बस्ने गरेका छन् ।

छिमेकीहरुका अनुसार कोठामा पेट्रोल नराख्न पटकपटक सम्झाउँदा पनि अटेर गरेका कारण बुधबार बिहान आगलागीका गम्भीर घटना भएको हो । ‘कम्पाउण्डभित्रका मोटरसाइकल जलेको भएर आज ३÷४ घर क्षणभरमै सखाप हुन्थे’ सँगै घरमा किराना पसलेले भने ।

Leave A Reply

Your email address will not be published.