कांग्रेसको अधिवेशन सार्न सुझाव

0

काठमाडौं, २१ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौ महिनामा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसअघि असार १७ र १८ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा सम्पन्न पार्टी सभापतिको भेलाका विचारलाई समेट्दै सभापतिहरुले पार्टी नेतृत्वलाई प्रस्तुत गर्न विभिन्न सुझाव तय गरेका हुन् ।
जिल्ला सभापतिको भेलामा उठेका विचारलाई समेट्दै पार्टी नेतृत्वलाई सुझाव प्रस्तुत गर्न रामनाथ अधिकारी, आङ्गेलु शेर्पा, सञ्जय गौतम, तारामान गुरुङ, कमल पंगेनी, गोविन्द ढुङ्गाना, अब्दुल रज्जाक, नरेन्द्र केरुङ, सीता यादव र वीरबहादुर बलायर रहनुभएको कार्यदल गठन गरिएको थियो ।
पार्टी केन्द्रीय महाधिवेशनको मितिमा फेरबदल नहुने गरी यसअघि साउन महिनामा गर्ने भनिएका पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौमा गर्नुपर्ने सुझावमा समावेश गरिएको छ । सुझावमा भूकम्पले प्रभावित जिल्लाका सर्वसाधारणलाई क्षतिको अनुपातका आधारमा प्रतिपरिवार रु पाँच लाख, तीन लाख र एक लाख सहयोग तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
भूकम्पले पूर्ण क्षति पु-याएको परिवारका लागि रु पाँच लाख, आंशिक क्षति भएका परिवारका लागि रु तीन लाख र अन्य सामान्य क्षति भएका परिवारका लागि रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीका जिल्ला कार्यसमितिबाट पारित भई आएका क्रियाशील सदस्यतालाई छानबिन समितिले अनुमोदन गर्नुपर्ने, पार्टी सभापतिको भेलाले यस अघि सिन्धुपाल्चोक र काभ्रेमा पारित गरेका निर्णय तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेलगायतका विषयलाई सुझावमा समेटिएको छ । कार्यदलका सदस्य रामनाथ अधिकारीका अनुसार तय गरिएका सुझावलाई पार्टीको शीर्ष नेतृत्व तहमा कार्यान्वयनका लागि लगिने छ ।

Leave A Reply

Your email address will not be published.