मन्त्रिमन्डल फेरबदलको चर्चा उत्कर्षमा !

0

शक्तिशाली बन्ने कसरतमा दाहाल

काठमाडौं – वर्तमान सरकार गठन भएको तीन महिनामै मन्त्रिमन्डल फेरबदलको चर्चा हुन थालेको थियो ।

सत्तारुढ दल नेकपाकै शीर्ष नेताबाट हल्ला चलेपनि सरकार गठनको १६ महिना पूरा भइसक्दा पनि मन्त्रिमन्डल फेरबदल अनुमानमै सीमित छ ।

सरकारको ‘कमान्ड’ सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा मौन देखिएपनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक मन्त्रिमन्डल फेरबदल हुने बताउँदै आएका छन् ।

वर्तमान सरकार गठन भएको केही महिनापछि नै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिकरुपमै छिट्टै मन्त्रिमन्डल पुनर्गठन हुने बताएका थिए ।

सरकार गठन भएको १६ महिनाको यो अवधिमा दाहालले करिब एक दर्जनपटक मन्त्रिमन्डल फेरबदलको हल्ला चलाइसकेका छन् ।

पछिल्लोपटक उनले यही असार ५ गते पोखरा र असार १० गते चितवनमा मन्त्रिमन्डल पुनर्गठन हुने सार्वजनिक गरेका थिए ।

मन्त्रिमन्डल फेरबदलको विषयमा मौन रहँदै आएका प्रधानमन्त्री ओली पार्टीभित्रै शीर्ष नेताबाट पटक–पटक यस्ता अभिव्यक्ति आएकोप्रति पछिल्लो समय निकै असन्तुष्ट देखिएका छन् ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकमा उनले मन्त्रीहरुलाई आश्वस्त पार्दै मन्त्रिमन्डल हेरफेरको कुनै योजना नरहेकाले ढुक्क भएर काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले सरकार कमजोर पार्ने नियतले मन्त्री फेरबदलको हल्ला आइरहेको टिप्पणी गर्दै परिणाम आउने गरी काम गर्न भन्दै मन्त्रीहरुलाई आश्वस्त पारेका हुन् ।

दाहालले मन्त्रिमन्डल पुनर्गठन र पार्टीभित्र शक्तिशाली बन्ने रणनीति लिएको चाल पाएपछि प्रधानमन्त्रीले पनि सरकार तथा पार्टीमा शक्तिशाली रहिरहन पछिल्लो समय आन्तरिक सक्रियता बढाएको उनीनिकटका नेताहरुले बताउने गरेका छन् ।

गत हप्ता खासै सार्वजनिक कार्यक्रममा नदेखिएका प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरुका साथै सांसदहरुसँगको भेटघाट तीव्र बनाए ।

सरकार र पार्टीभित्र आफूलाई कमजोर बनाउने खेल भइरहेको बुझेपछि उनले आफूलाई सरकार र पार्टीभित्र बलियो बनाइराख्न आन्तरिक परामर्श र छलफललाई तीव्रता दिएको उनीनिकट नेताहरुले बताउने गरेका छन् ।

दाहालको सक्रियता पनि रोकिएको छैन ।

गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनमा पार्टीको मागर्दशक सिद्धान्त ‘जबज’ राख्ने ओलीको प्रस्तावले चिढिएका उनले पूर्वमाओवादीका प्रभावशाली नेताहरुसँग पटक–पटक छलफल गरेका छन् । यस्तै, पूर्वएमालेका प्रभावशाली नेताहरुसँग पनि छलफल गरिरहेका छन् ।

पछिल्लो समय दाहाल पार्टीमा आफू शक्तिशाली बन्ने कसरतमा रहेको उनीनिकटका नेताहरुले भन्दै आएका छन् । दाहालको भेटघाट पार्टीभित्रका नेतामामात्र सीमिति छैन ।

गएको बिहीबार प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग ललितपुरको एक होटलमा उनले करिब एक घन्टा छलफल गरेका थिए ।

शान्ति–प्रक्रियाका बाँकी विषय टुंगो लगाउने विषयमा छलफलकेन्द्रित रहेको भनिएपनि भोलिपल्टै (शुक्रबार) एक सार्वजनिक कार्यक्रमा देउवाले वर्तमान सरकार ढाल्न कुनै समस्या नरहेको टिप्पणी गरेपछि प्रधानमन्त्री ओली झन् सशंकित देखिएका छन् ।

पछिल्ला केही दिनयता नेताहरुको सक्रियता, अनुमान वा योजनाबद्ध ढंगले भनिएको मन्त्रिमन्डल पुनर्गठनबारेका अभिव्यक्तिले राजनीतिक बजार भने गर्माएको छ ।

image

Leave A Reply

Your email address will not be published.