दैवले धोका दिएपछि पढ्ने उमेरमा भाँडा माझ्दै बालबालिका

0

जाजरकोटको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन् ।

अधिकांशका बाबु गरिबीका कारण कमाइ गर्न देश बाहिर गएका बेला कठोर परिश्रम गर्दा मृत्यु भएको पाइएको छ । श्रीमान् बित्दा श्रीमतीहरु बच्चा पालेर बस्नुपर्ने ठाउँमा नाबालक बच्चाबच्ची छोडेर दोस्रो विवाह गरेको पाइएको छ ।

चार वर्षअघि मजदुरी गर्न भारत गएका सीमा–३ का २८ वर्षीय कर्णबहादुर घर्तीको भारतको रुद्रप्रयागस्थित स्टिल उद्योगमा काम गर्दै गर्दा करेन्ट लागेर मृत्यु भयो । घरमा दुई वर्ष नपुग्दै यहाँकी श्रीमती चन्द्रकला घर्तीले तीन नाबालक बच्चा छोडेर दोस्रो बिहे गर्नुभयो ।

अहिले घर्तीका चार वर्षीय छोरा गणेश, छ वर्षीय चन्द्र र नौ वर्षीय योगेन्द्र आमा र बाबाको मायाबाट वञ्चित मात्र छैनन्, स्कुल जाने उमेरमा माटो खेलेर बेसहारा बनेर जिन्दगी व्यतित गर्दैछन् ।

उनीहरुलाई आमाबाबुको माया प्रेम भन्ने के हो थाहा नै छैन । त्यस्तै, सोही गाउँका ठगेन्द्रबहादुर थापाका दुई छोरा पनि बिचल्लीमा परेका छन् । ठगेन्द्रको तीन वर्ष पहिले भारतको जम्मु कास्मिरमा काम गर्दा मृत्यु भयो । श्रीमान्को मृत्यु भएको छ महिना नबित्दै उहाँकी श्रीमती मोती थापाले दोस्रो विवाह गरेर अर्कैसँग गएपछि चार वर्षीय गोपाल थापा र उनका दाजु आठ वर्षीय चन्दबहादुर पनि बिचल्लीमा परेका छन् ।

त्यस्तै, सीमा–३, आर्सिनाटोलकी १३ वर्षीया उर्मिला बुढा र १५ वर्षीया सीतालाई बाबुआमा भन्ने थाहा नै छैन । बाबु खड्कबहादुर बुढाको मृत्यु र आमा वृद्धी बेपत्ता भएपछि उनीहरु अभिभावकविहीन भएका हुन् ।

सीमा–३ को एउटै गाउँका आधा दर्जन बढी बालबालिका सहाराविहीन बनेका छन् । पढ्ने लेख्ने कुरा उनीहरुका लागि एकादेशको कथा जस्तै भएको छ । काका, बाजे, बजैको सहारामा उनीहरु अहिले दैनिक जुठा भाँडा माझेर दैनिकी बिताउने गरेका छन् ।

बाबाको मृत्यु र आमाको दोस्रो विवाहबाट पीडित बनेका यी बालबालिका यतिबेला गाँस, बास, कपास, शिक्षा र सुरक्षालगायत अधिकारबाट वञ्चित भएका छन् ।

मर्नेबेलामा सहारा होलान् भन्ने आश गरेकाले अगाडि नै आफूले नै संसार छोड्दा उनीहरुका छोराछोरी हेरचाह गर्न निकै मुस्किल भएको ६० वर्षीया हजुरआमा झुर्पा घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो – “छोरा कर्णे घर्तीको मृत्यु भयो, तीन नाबालक नातिको लालनपालनमा समस्या भएको छ । बुहारी चन्द्रकला अर्कै केटा समातेर पोइल गई ।” यो गाउँमा यस्ता थुप्रै बालबालिका बिचल्लीमा परेको स्थानीयवासी पूर्णबहादुर महताराले बताउनुभयो ।

स्थानीय सङ्घसंस्थाले जे जस्तो कार्यक्रम ल्याएपनि टुहुराको लालनपालन, शिक्षा, सुरक्षाको कार्यक्रम नहुँदोरहेछ – महताराले भन्नुभयो । साना बालबालिकालाई विद्यालय लैजाने, ल्याउने, ड्रेस, कपी, कलमलगायतका आधारभूत कुरा नहुँदा विद्यालय जानबाट समेत वञ्चित भएको पाइएको छ ।
– हेमन्त केसी

Leave A Reply

Your email address will not be published.