जनताका चाहनाबारे राष्ट्रिय नीति जरुरी : नेता पौडेल

0

इटहरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेपाली जनताले के चाहेका छन् भन्ने विषयमा काँग्रेसले ठोस राष्ट्रिय नीति ल्याउन जरुरी रहेको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन–केन्द्र नेपालले आज सुनसरी जिल्लाको धरानमा आयोजना गरेको ‘राजनीतिलाई सम्मानित बनाउन श्रमको सम्मान गराँै’ विषयक विचारगोष्ठी तथा सम्मान कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै वरिष्ठ नेता पौडेलले त्यस्तो धारणा राख्नु भएको हो ।
उहाँले नेपाली जनताका चिन्ताका विषयलाई नै नेपाली काँग्रेसले आफ्नो नीति बनाएर अघि जान सक्यो भने मात्र वीपी कोइराला र गिरिजा प्रसाद कोइरालाले अघि सार्नुभएको नीति सफल हुन्छ भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले तीन लाख नेपाली कर्मचारीको तलब २५ प्रतिशत बढाएर रु तीन करोड नेपालीमाथि महङ्गीको भार थोपरेर घोर अन्याय गरेको उल्लेख गर्नु हुँदै पूर्व प्रम सुशील कोइरालाको पालामा भूकम्पपीडितका नाममा जम्मा भएको रु चार खर्ब पीडितलाई वितरण गर्न नसक्नु कहाँसम्मको लाजमर्दो कुरा हो भन्नुभयो ।
सोही अवसरमा काँग्रेस नेत्री तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले अब राजनीतिक दलका नेताले जनताका कुरा सुनेर के गर्दा परिवर्तन सम्भव छ भन्ने सोची नीति बनाउनु जरुरी रहेको कुरामा जोड दिनुभयो ।
त्यसैगरी, अर्का केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बिना आफैँसँग भएर पनि अन्यत्र खोज्दै हिँड्ने मृगले जस्तो अब नेपाली काँग्रेस भाँैतारिएर हिँड्ने होइन वीपीले अघि सार्नुभएको मेलमिलाप र जीपीले अघि सार्नुभएको शान्ति, सहमति र सहकार्यको नीतिलाई सफल बनाउन सबैले सक्रिय बन्न जरुरी रहेको छ भन्नुभयो ।
उक्त अवसरमा काँग्रेस नेता डा शेखर कोइराला, मीन विश्वकर्मा, सरिता प्रसाइँ तथा नेपाली काँग्रेसका सभापति सुनसरीका राजिव कोइराला, मोरङका डिकबहादुर लिम्बू, झापाका उद्धव थापा, तेह्रथुमका गोविन्द ढुङ्गाना, पाँचथरका नरेन्द्र केरुङले पनि बोल्नुभएको थियो ।
त्यसैगरी, धनकुटा सभापति अग्निप्रसाद पौडेल, ताप्लेजुङकी सभापति लीला बोखिम, सङ्खुवासभाका सभापति दीपक खड्का, डा कमल रिजाल तथा सुनसरी सचिव सुजेन्द्र तामाङले पनि विचार व्यक्त गर्नुभएको थियो ।
डा गणेशचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा किसान नेता देवनारायण महतो, हरिप्रसाद मेहता, मजदुर नेता देवराज राई र शम्भु तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानपत्रसँगै नगद प्रदान गरेर सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.