प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा सो नियमावलीमाथि हुने छलफलमा सहमतिका लागि सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच नियमावली सहमतिका आधारमा पारित गराउनेबारेमा कुराकानी भएको छ । आइतबारको संसद्को बैठकमा नियमावली प्रस्तुत हुने कार्यतालिका छ ।
संसद्को सुनुवाइ विशेष समितिमा कति सदस्य राख्ने भन्नेबारेमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच विवाद देखिँदै आएको थियो । सत्तापक्षले नयाँ संविधान बमोजिम १५ सदस्यीय समिति र काँग्रेसले अघिल्लो संविधान बमोजिम ७५ सदस्यीय समिति हुनुपर्ने अडान राख्दै आएको छ । सो समिति गठनमा ढिलाइ हुँदा न्यायाधीश, राजदूतलगायत पदमा भएको सिफारिसबारे सुनुवाइ हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.