पुनःसंरचनाको प्रतिवेदन नआई कसरी हुन्छ चुनाव ?

0

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले आउँदो मंसिरमा स्थानीय तहको निर्वाचन गराइ छाड्ने दृढता व्यक्त गरेका छन् । संविधान कार्यान्वयनको तालिका ल्याएको सरकारले सोहीअनुसार दुईहजार चौहत्तर सालको मंसिरभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गराइने बताए । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको ‘स्प्रिट’अनुसार प्रतिवेदन तयार गर्न राज्य पुनःसंरचना आयोगलाई आग्रह पनि गरे ।
फागुनसम्म म्याद रहेको आयोगले संविधान कार्यान्वयनको तालिका प्रभावित नहुने गरी प्रतिवेदन बुझाउनु पर्ने प्रधानमन्त्रीको भनाइ थियो । मंसिर अघि नै आयोगले प्रतिवेदन दिनेमा विश्वस्त देखिएका उनले सबै निकायले राष्ट्रिय कार्यभार समयमै पूरा गर्नुपर्नेमा जोड पनि दिए ।।

देउवा भनाइ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन महिने कार्यावधिका लागि सरकारले स्थानीय निकायको निर्वाचन गराउन खोजेको टिप्पणी गरेका छन् । बाँकेको नेपालगन्ज पुगेका सभापति देउवाले आयोगले फागुनमा राज्य पुनःसंरचनाको सिफारिस गर्ने तर सरकारले त्यसको तीन महिना अघि नै मंसिरमा चुनाव गराउँछु भनेर के गर्न खोजेको हो ? भन्ने प्रश्न गरेका हुन् ।
विरोधाभाषपूर्ण गतिविधिका कारण संविधान कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको आरोप लगाएका देउवाले मंसिरमै निर्वाचन भएपनि कांग्रेस प्रतिस्पर्धाका लागि तयार हुने स्पष्ट पनि पारे ।

Leave A Reply

Your email address will not be published.