काँग्रेस संसदीय दलको विधान संशोधन केन्द्रीय समितिबाट स्वीकृत

0

काठमाडौं । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको विधान परिमार्जन गर्ने निर्णयलार्ई केन्द्रीय समितिले स्वीकृत गरेको छ । नयाँ राजनीतिक परिवेशअनुसार संसदीय दलको नयाँ निर्वाचन गर्न संसदीय दलले आज बिहान गरेको विधान संशोधनलाई आजै दिउँसो बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको हो ।
दलको विधानमा गरिएको मुख्य संशोधनमा अन्तरिम संविधान, २०६३ को सट्टा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गर्ने संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले स्वीकृति दिएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी÷जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
काँग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति निर्धारण गरेको छ । काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

निर्वाचन कार्यक्रम सुरु
बुधबार हुने नेपाली काँग्रेस संसदीय दल नेताको निर्वाचनका लागि आज दिउँसो ४.३० बजे मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ । मतदाता नामावलीका विषयमा आजै ४.३० देखि ५ बजेसम्म दाबी विरोधको समय तोकिएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
आज बेलुकी ५.३० बजे मतदाता नामावलीमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । संसदीय दलको नेता पदमा उम्मेदवारी दिनका लागि भोलि बिहान ९ बजेदेखि मध्याह्न १२ सम्मको समय निर्धारण गरिएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२.३० बजे गरिनेछ । १२.३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १.३० बजेसम्म, नाम फिर्ता लिने समय १.३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ ।
मतदान २४ गते बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुनेछ । मतदानमा काँग्रेसका २०७ सांसद सहभागी हुनेछन् । चैत २६ गते हुने संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम भने चैत २४ गते दिउँसोबाट सुरु हुने समिति सदस्य घिमिरेले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.