नक्कली चिकित्सक पक्राउ

0

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप दुई व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहट, मतसरीका राजीवकुमार झा र बारा, बहुअरीका पृथ्वीनारायण यादवलाई पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक दिवस लोहनीका अनुसार सानोभ¥याङस्थित नेपाली सेनाको मेडिकल कलेजमा मेडिकल काउन्सिलको चिकित्सिक दर्ता प्रमाणपत्रका लागि परीक्षा दिन आएका उनीहरुलाई परीक्षास्थलबाटै पक्राउ गरिएको हो ।
झाले सन् २००६ मा विहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट द्वितीय श्रेणीमा उत्तीर्ण गरेको प्रमाणपत्रमा भौतिक शास्त्र र रसायनिक शास्त्र विषयमा बढी नम्बर थप गरेको नक्कली प्रमाणपत्र बनाएका थिए ।
यादवले सन् २००६ मा विहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट द्वितीय श्रेणी ल्याएकामा सम्पूर्ण विषयमा नम्बर थप गरी प्रथम श्रेणी ल्याएको नक्कली प्रमाणपत्र बनाएका थिए ।
दुवैले सोही नक्कली प्रमाणपत्रका आधारमा चीनबाट एमबिबिएस अध्ययन गरी नेपालमा इन्टर्नसिपसमेत गरेका थिए । झा मेडिकल काउन्सिलमा चिकित्सिक दर्ता प्रमाणपत्र परीक्षामा १२ पटकसम्म र यादव १३ पटक अनुत्तीर्ण भइसकेका थिए । अनुत्तीर्ण भएका उनीहरु आज फेरि प्रमाणपत्रका लागि परीक्षा दिन आएको मौका छोपी पक्राउ गरिएको उपरीक्षक लोहनीले बताउनुभयो ।
अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी विभिन्न तहका १४ जना नक्कली प्रमाणपत्र पेस गरी विभिन्न देशबाट चिकित्सक बनेका व्यक्तिहरुलाई यसअघि पक्राउ गरिसकेको छ । उनीहरुलाई नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ बमोजिको आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको ब्युरोले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.