सरकारको नेतृत्व परिवर्तन तत्काल असम्भव

0

पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन तत्काललाई असम्भव देखिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेतृत्व परिवर्तन कसैले सोचेर र चाहँदैमा हुन सक्दैन, प्रमुख पार्टी एक ठाउँमा बसेर गर्ने निर्णयबाट मात्रै नेतृत्व परिवर्तन हुन सक्ने टिप्पणी गर्नुभयो ।
प्रमुख राजनीतिक दलबीच भएको भद्र सहमति तोडेर अगाडि बढेको कारणले नै नेपाली काँग्रेस सत्ताबाहिर रहन गएको धारणा राख्दै उहाँले काँग्रेसको १३ महाधिवेशन सम्पन्न भएपछि काँग्रेस पनि यही सरकारमा सामेल हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउन एमाले नेतृत्वको सरकार प्रयासरत रहेको धारणा राख्दै महासचिव पोखरेलले कसैलाई गाली गरेर वा लम्पसार परेर होइन, सिधा वार्ता र छलफल गरेर सबै मुद्दा सम्बोधन गर्न सकिने र सम्बन्ध सुमधुर बनाउन सकिने बताउनुभयो ।
महासचिव पोखरेलले हिंसात्मक गतिविधि गरेर र दबाबका भरमा संविधान परिवर्तन हुन सक्दैन भन्दै उहाँले विधि, प्रक्रियाबाट औचित्यका आधारमा मात्रै संविधानका धारामा संशोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो । देशको अवस्था चरम बिग्रेको बेलामा एमालेले सरकारको नेतृत्व सम्हालेकाले सबैलाई सन्तुलित बनाउँदै अघि बढ्दा काममा केही शिथिलता देखिनु स्वभाविक नै भएको उहाँको धारणा थियो ।
प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्सालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.