चितवनमा काँग्रेसको चुनावी सरगर्मी

0

चितवन । सबैभन्दा बढी क्रियाशील सदस्य रहेको चितवनमा नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । काँग्रेसका जिल्ला नेतादेखि स्थानीय नेता तथा कार्यकर्तामाझ चुनावी जोडघटाउ हुन थालेको छ । केन्द्रीय नेताहरु जिल्लामा आउँदै कार्यकर्तालाई निर्देशन, भेटघाट र पत्रकारसम्मेलनमा सक्रिय भएर लागेका छन् ।
चितवनमा उपसभापति रामचन्द्र पौडेलदेखि नेताहरु कृष्ण सिटौला, अर्जुननरसिंह केसी, शशाङ्क कोइराला, मीनेन्द्र रिजाललगायतका केन्द्रीय नेता आएर आसन्न महाधिवेशनबारे सञ्चारकर्मी तथा कार्यकर्तासँग भेटघाट गरिसकेका छन् ।
यस्तै, वरिष्ठ नेता शेरबहादुर देउवादेखि मीनेन्द्र रिजाल, सुजाता कोइराला पनि आजभोलि चितवन आउने कार्यक्रम रहेको जिल्ला सभापति टेकप्रसाद गुरुङले बताउनुभयो । हरेक चोकचौतारोदेखि पार्टी कार्यालय तथा गाउँ क्षेत्रमा अहिले काँग्रेसको चुनावको चर्चा–परिचर्चा भइरहेको काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नेता र कार्यकर्ताले पार्टीलाई पक्ष–विपक्षभन्दा पनि समग्र काँग्रेस एक भएर अघि बढ्नुपर्ने सुझाव दिँदै आएका छन् । चितवनमा पाँच निर्वाचन क्षेत्र छ । श्रेष्ठका अनुसार जिल्ला अधिवेशन प्रतिनिधिहरु ९४० जना हुने छन् ।
यस्तै, जिल्लामा करिब २० हजार क्रियाशील सदस्य रहेका छन् । केन्द्रमा वरिष्ठ नेता शेरबहादुर देउवा र सभापति सुशील कोइराला पक्षीय नेताबीच मतमतान्तर देखिएजस्तै जिल्ला पनि त्यसको प्रभावबाट अछुतो छैन ।
काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ नेपालमै सबैभन्दा बढी २० हजार क्रियाशील सदस्यता भएको जिल्ला चितवन भएकाले चुनावी सरगर्मी अन्तभन्दा बढी रहेको दाबी गर्नुहुन्छ । आफू सभापति नभए केन्द्रीय सदस्यमा लड्ने उहाँले बताउनुभयो । जिल्लामा अहिले सभापतिका लागि वर्तमान सचिव जितनारायण श्रेष्ठले पनि उम्मेदवार दिने बताउनुभएको छ ।
हालका सभापति गुरुङ पनि दोहो¥याउने पक्षमा हुनुहुन्छ । सचिव श्रेष्ठ अब पक्ष–विपक्षभन्दा पनि मिलेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनुहुन्छ । तर देउवा पक्षीय मानिने प्राध्यापक सङ्घका नेता प्रकाश अधिकारीले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
केन्द्रमा देखिएजस्तो मत विभाजन गरेर नभई समग्र काँग्रेस एक भएर जानुपर्ने उहाँको भनाइ छ । यसपालि जिल्लाको सभापति आफैँलाई दिनुपर्ने उहाँको माग पनि छ । जिल्लामा केन्द्रमा जस्तो ६०–४० प्रतिशतको मूल्याङ्कन गरिएको भए पनि देउवा पक्ष कमजोर रहेको कार्यकर्ता बताउँछन् । सबै नेताले पार्टी एक भएर जाने बताए पनि जिल्लामा खेमा भने छुट्टिएर मत विभाजनमा बाँडिएको प्रस्ट देखिन्छ । उनीहरु आफ्नो पक्षमा कार्यकर्ता रिझाउन सक्रिय भएर लागेको एक क्रियाशील सदस्यले बताए ।
काँग्रेसको चितवनमा यही माघ १५ र १६ गते गाउँ र नगर अधिवेशन हुँदै छ । माघ २२ गते क्षेत्र र २५ गते जिल्ला अधिवेशन हुनेछ । हरेक निर्वाचन क्षेत्रबाट १२ जनाका दरले ६० जना महाधिवेशन प्रतिनिधि छनोट हुने काँग्रेस चितवनले जनाएको छ । आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा नेपाली काँग्रेसको १३औँ महाधिवेशन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.