फारम नै नभरेका कांँग्रेस क्रियाशील सदस्य

0

नगरकोट । फारम नै नभरेकालाई समेत पार्टीको क्रियाशीलको सूचीमा सार्वजनिक गरिएपछि भक्तपुर काँग्रेसमा हलचल पैदा भएको छ । भक्तपुर काँग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक, धेरै सङ्ख्या र फारम नै नभरेकाको नाम समेत क्रियाशील सदस्यको सूचीमा आएपछि भक्तपुरका काँग्रेसपङ्क्तिमा हलचल पैदा भएको हो ।
त्यस्तै भक्तपुर काँग्रेसले निर्णय गरेभन्दा फरक – मृत्यु भएका, पार्टी परित्याग गरेकाको नामसमेत क्रियाशीलमा आएको काँग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले जानकारी दिनुभयो ।  उहाँले जिल्लाले निर्णय गरेर पठाएको भन्दा धेरै फरक क्रियाशीलहरुको सूची सार्वजनिक भएको बताउनुभयो ।
उहाँका अनुसार ६ वर्ष अघि देहावसान भएका भक्तपुरको साविक बालकोट गाविस–९ बस्ने थीरकुमारी कार्कीको नाम समेत काँग्रेसको क्रियाशील सदस्यको सूचीमा परेको छ । स्वर्गीय कार्कीलाई काँग्रेस प्रजातन्त्र सेनानीको उपाधिसमेत दिइएको थियो ।
‘थीरकुमारी कार्की त प्रतिनिधि पात्रमात्रै हुन्’, सभापति चक्रधरले भन्नुभयो, ‘अन्य पाँच छजना पनि मरेका व्यक्तिको नाम क्रियाशीलको सूचीमा परेको छ ।’
उहाँले नयाँ सार्वजनिक भएको सूची नसच्याइए भक्तपुरमा कुनै पनि तहको अधिवेशन नगर्ने चेतावनी दिनुभएको छ ।
पार्टीले सार्वजनिक गरेको क्रियाशील सदस्यको सूचीमा एमाले, राप्रपा नेपाल, नेमकिपालगायतका नेताको नाउँसमेत आएपछि आफूहरुलाई काँग्रेस भन्नैै लाज लागेको काँग्रेस भक्तपुर नगर सभापति रवीन्द्र प्रधानले बताउनुभयो ।
उहाँले वडा समितिबाट सिफारिस तथा निर्णय नै नगरिएकाहरुको नामसमेत क्रियाशील सदस्यको सूची प्रकाशित गरिएको बताउनुभयो । ‘भक्तपुर नगरपालिका–८ वडाबाट फारम नभरेका २६ जना र मध्यपुर थिमी नपा तीन वडाबाट फारम नभरेका ७६ जनाको नाम क्रियाशीलको सूचीमा आएको छ’, उहाँले भन्नुभयो, ‘यस्तै त्रुटि अन्यत्र पनि कति भएका छन्, भनिसाध्य छैन ।’
केन्द्रबाट प्रकाशित सूचीमा गम्भीर त्रुटि भएपछि काँग्रेस भक्तपुरले केन्द्रीय समितिलाई उक्त सूची सच्याउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको काँग्रेस भक्तपुरका प्रवक्ता प्रवीण वनले जानकारी दिनुभयो । उहाँले जिल्ला समितिबाट निर्णय भई गएका बाहेकको नाम भक्तपुरलाई मान्य नहुने बताउनुभयो ।
‘जिल्लाले निर्णय गरेर पठाएकाबाहेकलाई भक्तपुरले क्रियाशील सदस्य मान्दैन’, उहाँले भन्नुभयो, ‘जिल्लाको संशोधन प्रस्तावलाई अस्वीकार गरिए भक्तपुरमा कुनै तहको अधिवेशन हुनसक्दैन ।’
भक्तपुर काँग्रेसले पुराना तीन हजार ४५९ र नयाँ दुई हजार ३२९ जना गरी कूल पाँच हजार ७९८ जनाको नाम क्रियाशील सदस्यताको लागि निर्णय गरेर केन्द्रमा सिफारिस गरेको थियो ।
काँग्रेस विधानअनुसार केन्द्रबाट जिल्ला समिति हुँदै क्षेत्र र गाउँ तथा नगरका वडामा क्रियाशील सदस्यताको फारम वितरण हुन्छ । फारम भरिसकेपछि गाउँ र वडाबाट क्षेत्र तथा क्षेत्रबाट जिल्ला समिति हुँदै जिल्लाले केन्द्रलाई निर्णय गरेर पठाउँछ ।

Leave A Reply

Your email address will not be published.