पृथ्वीनारायणको योगदानलाई अस्विकार गर्न हुँदैन : प्रम ओली

0

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्विकृत गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान समारोहमा सहभागिता जनाउँदै उहाँले गणतन्त्रमा इतिहासमा योगदान गरेको व्यक्तिको सान्दर्भिकता हुँदैन भन्ने होइन भन्नुभयो ।
एकता दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले वक्तव्यमा उल्लेख गरेको अंशको जवाफको सङ्केत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “आजको सन्दर्भ भनेको दरबार छोड्नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।”
लोकतन्त्रभन्दा बाहेक कुनै पनि तानाशाही, परिवारिक, जहाँनिया र जन्मसिद्ध पाखण्डी सिद्धान्तको राजनीतिक प्रणाली उपयुक्त हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो– “हामी बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा छौँ, केही मतभेद हुनु तथा स्वार्थको टकराव हुनुलाई स्वाभाविक रुपमा लिनुपर्छ सङ्कीर्ण ढङ्गबाट हेरिनुहुँदैन, सन्तुलन कायम गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले पछिल्लो समय मुलुक सकारात्मकता र सहजतातर्फ उन्मुख भएको उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले राष्ट्रिय एकता दिवसले नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण र सम्बद्र्धनका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा राष्ट्रिय एकता कायम गर्न योगदान गरोस् भन्ने पवित्र चाहना राखेर राप्रपा नेपालले पृथ्वी जयन्तीलाई एकता दिवसको रुपमा मनाउँदै आएको बताउँदै परराष्ट्रमन्त्री पनि रहनुभएका थापाले यो दिवसले नेपाली हुनुमा गर्वको अनुभूति गराउनुका साथै राष्ट्रप्रति गौरव गर्ने वातावरण सिर्जना गरेको छ भन्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का नेता माधव नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, नेकपा (माले)का महासचिव एवम् महिला तथा उपप्रधानमन्त्री सिपी मैनाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेता पशुपति शम्शेर जबरा तथा पूर्व उपराष्ट्रपति परमानन्द झा र तत्कालीन मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सो जलपान समारोहमा सहभागी हुनुभयो ।
समारोहमा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिगण, सांसद, नेपालस्थित विदेशी नियोगका प्रमुख एवम् प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुख, बुद्धिजीवी, कलाकार, पत्रकार तथा समाजका विभिन्न पेसासँग आबद्ध महानुभावहरु उपस्थित हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.