व्यापारीबाट दुई मोटरसाइकलमा आगजनी

0

जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आन्दोलनकारीलाई स्थानीय व्यापारीले जनकपुरमा प्रतिकार गरेका छन् । मोर्चाका कार्यकर्ताले दिउँसो जनकपुरमा निकालेको मोटरसाइकल जुलुसमा सहभागी रहेका केही आन्दोलनकारीले खुलेको पसलको सटरमा बाँसको भाटाले हिर्काउन थालेपछि आक्रोशित भएका व्यापारीले जनकपुरको जनकचोकमा आन्दोलनकारीलाई धपाएका थिए ।
व्यापारीले आन्दोलनकारीको दुईवटा मोटरसाइकलमा आगो लगाएर ध्वस्त बनाएका छन । व्यापारीले सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जयकुमार सिंह चढेको ज२प ५४१९ र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डल चढेको ज३प २९९१ नंको मोटरसाइकलमा आगो लगाएका छन् ।
जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जीतेन्द्रप्रसाद साहले करिब पाँच महिनादेखि व्यापारीले आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाउँदै पसल बन्द गरेर आन्दोलनमा होमिएको भए पनि आन्दोलनमा सहभागी रहेका केही व्यक्तिको अराजक क्रियाकालपका कारण जनकपुरमा यस्तो अवस्था आएको बताउनुभयो ।
मोटरसाइकलमा आगजनी गरिएपछि आन्दोलनकारीले फेरि आएर विरोध प्रदर्शन गरेका छन् । सद्भावना पार्टीका जिल्ला अध्यक्ष सिंहले नेपाली काँग्रेस र नेकपा एमालेका घुसपैठियाहरुले मोटरसाइकलमा आगजनी गरेको प्रतिक्रिया दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.