मधेसी नेताहरू चीन जाँदै

0

काठमाडौं । आन्दोलनरत मधेसी दलका करिब एक दर्जन नेताहरूको चीन भ्रमण तयारीबारे भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले चासो देखाएका छन् । अरु नै कामको सिलसिलामा शनिबार काठमाडौं आएका विदेश सचिव ठाकुरले  मधेसी दलका नेताहरू चीन भ्रमणमा जान लागेको थाहा पाएपछि चासो दिएका हुन् ।
समाचार स्रोतका अनुसार चीन भ्रमणमा जाने नेताहरूको सूचीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका नेताहरू धेरै छन् । विहारका मुख्यमन्त्री नितिशकुमारसँग घनिष्ठ सम्बन्ध भएका लालबाबु राउतको नेतृत्वमा नौजनाको टोली आगामी साता चीन भ्रमणमा जान लागेको हो । उक्त टोलीमा  विदेश विभाग प्रमुख अर्जुन थापा, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ला पनि जाँदैछन् । शुक्लाको युपीका मुख्यमन्त्री अखिलेश यादवसँग विशेष सम्बन्ध भएको बताइन्छ । भारतका प्रान्तीय पार्टी तथा प्रान्तीय मुख्यमन्त्रीहरूसँग निकट सम्बन्ध भएकाहरूलाई छानेर चीनले भ्रमणका लागि बोलाएका कारण पनि भारतीय विदेश मन्त्रालयका सहसचिव ठाकुरले चासो दिएका हुन् ।
भारतमा चिनियाँ स्वार्थ भिœयाउने सेतुको भूमिका मधेसी दलका नेताहरूले गरेका पो छन् कि ? भन्ने कुरामा भारतीय विदेश मन्त्रालयले निकै चासो देखाएको बुझिएको छ । भारतका प्रान्तीय मुख्यमन्त्रीहरूलाई सिधै वैदेशिक सम्पर्क गर्ने अधिकार छैन । उनीहरूले नेपालका मधेसी दलका नेताहरूलाई प्रयोग गरेर चीनसँग गोप्य सम्बन्ध विस्तार गरेको हुनसक्ने अनुमान खुफिया एजेन्सीहरूको छ । तर चीन भ्रमण गर्ने मधेसी नेताहरूको टोलीमा ‘रअ’ का मान्छे पनि फिट गरिएको बताइन्छ । उक्त टोलीमा सामेलमध्ये राकेश मिश्र भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघको नेपाल च्याप्टरका उपाध्यक्षसमेत हुन् ।
यसैगरी, मनिषकुमार सुमन, कामिनी सिंह, चन्दा चौधरीलगायतकाहरू पनि चीन भ्रमण टोलीमा सामेल हुने भएका छन् । अघिल्लो पटकको यसै सिजनमा जयप्रकाशप्रसाद गुप्तालगयतको प्रतिनिधिमण्डलले पनि चीन भ्रमण गरेको थियो । उक्त भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष लालबाबु चौधरीलाई तराईका विद्यालयहरूमा बाँड्न चार सय थान कम्प्युटर उपलब्ध गराएको थियो । दोस्रो जनआन्दोलनपछि स्थापित भएका मधेसवादी पार्टीहरूमा चिनियाँ चासो कहिलेदेखि सुरु भएको हो ? एकिन हुनसकेको छैन । तर त्यतिबेला तराई मधेसको शक्तिशाली पार्टी मधेसी जनाधिकार फोरमको वीरगन्जमा सम्पन्न पहिलो महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको उपस्थिति थियो । उनको यो उपस्थितिलगत्तै मधेसी जनअधिकार फोरममा विभाजन आउँदै ११ टुक्रा हुनुलाई संयोग मात्रै मानिएको छैन ।

Leave A Reply

Your email address will not be published.