आफ्नै मन्त्रीबाट ओलीलाई खतरा

0

काठमाडौं । सरकारका खम्बा ठहरिएका उपप्रधानमन्त्री कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्बन्ध काठमाडौंको कठ्यांग्रिँदो चिसोभन्दा पनि चिसो भएको छ । आफू दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको, तर रातारात थापा लोकप्रिय हुँदै आफ्नो व्यक्तित्वलाई नै छायाँमा पारेको आभास हुँदै गएपछि ओलीलाई अहिले थापाको कुनै पनि कदम खतरा हुन थालेको छ । थापाको चीन भ्रमणको पूर्वसन्ध्यामा ओलीले बुझ्ने गरी यो संकेत सार्वजनिक मात्र गरेनन्, प्रतिनिधिमण्डलमा रातारात कानुनमन्त्री थपेर थापाप्रति विश्वास नरहेको सन्देशसमेत प्रवाह गरेका छन् । विशेषगरी थापाको दुईपटकको भारत भ्रमणबाट प्रधानमन्त्री ओलीले आफू किनारामा परेको अनुभव गरेका छन् ।
भारत, जेनेभा र बेलायत भ्रमणपछि अन्तर्राष्ट्रिय रूपमा उपप्रधानमन्त्री थापाको उचाइ प्रधानमन्त्री ओलीको भन्दा माथि पुगेको आभास हुँदै थियो । थापाले जेनेभामा भारतीय अधिकारीहरूलाई नेपालको हितमा दिएको जवाफ, बेलायतमा कर्नेल कुमार लामाको रिहाइ र गोर्खा सैनिकको पेन्सनको मामिला उठाएर फर्किएका उनलाई भावी प्रधानमन्त्रीका रूपमा पनि कतिपय ठाउँमा चर्चा गर्न थालिएको थियो । तर, थापाका यी सबै भ्रमणपछि प्रधानमन्त्री ओलीले आफू आइसोलेसन (किनारा) परेको आंकलन गरेपछि चीन भ्रमणको टोलीमा रातारात एकजना प्रतिनिधिमण्डल थपियो । थापालाई साइजमा राख्न र ओलीका तर्फबाट चिनियाँहरूलाई विश्वास दिलाउन र विश्वास लिन रातारात कानुनमन्त्री अग्नि खरेललाई ओलीले चीन पठाएका छन् । थापासँग ओलीको सम्बन्ध चिसिएर उत्कर्षमा पुगेको अर्थमा यसलाई बुझ्नुपर्ने संकेत बालुवाटारले दिएको छ ।
पुस ८ गते चीन गएर अहिले सिचुवान पुगेका थापासँगै रहेका खरेल थपिएको पनि थापाले अन्तिम अवस्थामा मात्र थाहा पाएका थिए । भ्रमणको अघिल्लो दिन अबेर खरेल पनि थपिएको थाहा पाएपछि थापाले सिंहदरबारमा राप्रपा राणा समूहका केही नेतासँग भनेका थिए, ‘प्रधानमन्त्री ओलीको भूमिका सकारात्मक छैन । उनले मलाई कर्नरमा पार्न खोजिरहेका छन् । चीनमा पनि मप्रति विश्वस्त नभएर रातारात कानुनमन्त्री अग्नि खरेललाई मेरो टिममा हालेका छन्, मैले भर्खरै थाहा पाउँदैछु ।’ भ्रमण टोलीका विषयमा मन्त्रिपरिषद्ले टुंगो लगाउनुपर्नेमा खरेलको हकमा प्रधानमन्त्रीले व्यक्तिगत रूपमा निर्णय गरेर पठाएको थापाले गुनासो गरेका थिए ।
स्रोतका अनुसार थापाको दुईपटकको भारत भ्रमणबारे आफूलाई पूरै ब्रिफिङ नभएको ओलीको गुनासो छ । चीन भ्रमणमा पनि त्यस्तै अवस्था रहे विदेशीहरूले आफूलाई नपत्याउने डर ओलीलाई छ । यस्तै भइरहे देशभित्र र कूटनीतिक समुदायमाझ सरकार भनेकै कमल थापा भन्ने अर्थ जाने र यो ओलीका लागि राजनीतिक रूपमै ठूलो नोक्सानी हुने आंकलन प्रधानमन्त्री ओली निकटस्थहरूको छ । भारतसँग थापाले मधेस समस्या समाधानका लागि बुझाएको चारबुँदे सहमतिको प्रस्तावका विषयमा पनि ओलीले पछि मात्रै थाहा पाएको र बाध्यतावश मन्त्रिपरिषद्बाट पास गराउनुपरेको दुःखेसो निकटस्थहरूसँग गरेका छन् ।
पछिल्लोपटक भारतीय नेता र सरकारसँग ओलीको प्रत्यक्ष संवाद छैन, तर थापासँग उनीहरूको बाक्लिएको सम्बन्धबारे ओली सशंकित हुन थालेका छन् । थापाले खुल्ला रूपमा भन्न थालेका छन्, ‘म भारत र चीनका नेताहरूसँग व्यक्तिगत तवरको सम्बन्ध स्थापित गर्न चाहन्छु । भारतसँग मैले त्यसमा सफलता हासिल गरें, अब चिनियाँ नेतासँग म डाइरेक्ट हटलाइनमा कुरा गर्ने सम्बन्ध बनाएर फर्किन्छु ।’ थापाको यो सम्पर्क आफ्ना लागि नहुने बरु यसबाट थापा र उनको पार्टीका लागि मात्रै दीर्घकालीन राजनीतीतिक लाभ हुने बुझाई प्रधानमन्त्री निकटस्थहरूको छ ।
‘अहिले प्रधानमन्त्री सार्वजनिक रूपमा अति अलोकप्रिय हुने, त्यही क्याबिनेटका उपप्रधानमन्त्री हैसियत रहेका थापा रातारात हिरो हुने, यो कसरी मिल्छ, प्रधानमन्त्रीज्यूले यसलाई गम्भीरतासाथ हेर्नुभएको छ,’ ओली निकटस्थ स्रोतले भन्यो । थापालाई हिरो हुनबाट रोक्न र चीनमा थापाको सुराकी गर्न ओलीले खरेललाई पठाएको चर्चा गरिन थालिएको छ । चीन भ्रमणमा पनि थापाले उच्च महŒव पाएका छन्, तर यसपटक त्यहाँ भएका सबै कुराको जानकारी खरेलमार्फत ओलीले प्राप्त गर्न सफल भएका छन् । यो भ्रमणले देशका लागि उपलब्धि हासिल नगरे पनि ओलीका लागि भने चीनको मूड आफ्ना मानिसबाट बुझ्न उपलब्धि हासिल गरेका छन् । पुस ८ गते थाइल्यान्ड बसेर ९ गते बेइजिङ पुगेको टोलीले त्यही दिन उपराष्ट्रपतिसँग र १० गते विदेशमन्त्री वाङ यीसँग वार्ता गरेको थियो । टोली हिजो आइतबार सिचुआनको छेन्दु पुगेको थियो भने मंगलबार काठमाडौं आइपुगे ।

Leave A Reply

Your email address will not be published.